मलंगवा, ३० वैशाख – सत्तारुढ दल नेकपा एमालेको नवौं सर्लाही जिल्ला अधिवेशन आजबाट सदरमुकाम मलंगवामा सुरु हुँदै छ ।
अधिवेशनको पहिलो दिन आज उद्घाटन समारोह सम्पन्न गरिने जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए । उनका अनुसार मलंगवास्थित जिल्ला प्रहरी कार्यालय अगाडि रहेको खेलकुद विकास समितिको कभर्ड हल चौरमा अधिवेशनको उद्घाटन हुन लागेको हो ।
यसअघि मलंगवाकै विश्वकर्मा चोकस्थित २ बिघाको आँप बँगैंचामा उद्घाटन समारोहको कार्यक्रम तय गरिएको थियो । तर, त्यहाँ पानी परेर हिलो भएपछि कभर्ड हलमा कार्यक्रम सारिएको उपाध्यक्ष प्याकुरेलले बताए ।
अधिवेशनको पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । ओली रक्षामन्त्री हरिप्रसाद उप्रेतीसँगै नेपाली सेनाको हेलिकप्टरमा आउनुहुने बुझिएको छ ।
मौसम यो भन्दा खराब नभए अहिलेसम्मको अवस्थामा अध्यक्ष ओलीले नै अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम पक्कापक्की रहेको एमाले जिल्ला अध्यक्ष राजनारायण साहले बताएका छन् ।
आज दिनभर उद्घाटन समारोह भएपछि भोलीबाट बन्द सत्र सुरु हुने छ । बन्दसत्र मलंगवाकै कुसुम पार्टी प्यालेसमा हुने छ । नयाँ नेतृत्वका लागि भोली सहमतीको प्रयास गरिने र सहमती नभए पर्सी १ गते मतदान हुने छ ।
नेताहरु प्यानल नै बनाएर प्रचारप्रसारमा रहेकाले नेतृत्वका लागि सहमतीको सम्भावना न्यून रहेको पार्टीकै नेताहरु बताउँछन् ।
वर्तमान अध्यक्ष राजनारायण साहसहित गणेश प्रसाई र जयप्रकाश यादव अध्यक्षको आकांक्षी छन् । उनीहरु तीनै जनाले प्यानलसहित उम्मेदवारी दिने सम्भावना रहेको छ ।