नेकपा एमाले सर्लाही जिल्ला अधिवेशन उद्घाटन समाराेह आयाेजित सदरमुकाम मलंगवा स्थित कभर्ड हल मैदानमा प्रमुख अतिथि र अतिथिलाई बाेकेर आएकाे हेलिकप्टर ल्याण्डिङ हुने तयारीमा । (तस्बिर : उज्यालाे अभियान)

नेता कार्यकर्ताले लगाईदिएकाे मालाले छपक्कै पुरिएका एमाले उपाध्यक्ष विष्णु पाैडेल । (तस्बिर : उज्यालाे अभियान)
मलंगवा, ३० वैशाख – नेकपा एमाले सर्लाहीकाे नवाैं जिल्ला अधिवेशन उद्घाटन समाराेह अहिले सदरमुकाम मलंगवामा चलिरहेकाे छ ।
जिल्ला प्रहरी कार्यालयकाे सामुन्ने रहेकाे कभर्ड हलकाे मैदानमा आयाेजित कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा पार्टीका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली आउने भनिएकाे थियाे । कार्यक्रम स्थल नजिकै आकाशमा नेपाली सेनाकाे हेलिकाेप्टर देखिने बितिकै उपस्थित पत्रकार सहित नेता कार्यकर्ता फाेटाे र भिडियाे खिच्न तँछाडमछाड गरे ।

नेता कार्यकर्ताले लगाईदिएकाे मालाले छपक्कै पुरिएका रक्षा मन्त्री हरि प्रसाद उप्रेती । (तस्बिर : उज्यालाे अभियान)
तर हेलिकप्टरकाट निस्केका नेता देख्ने बितिकै उपस्थित सबैकाे मुहारसँगै क्यामेरा र माेबाईल पनि डाउन भयाे । राष्ट्रिय अध्यक्ष ओली आउने व्यापक प्रचारप्रसार गरिएपनि प्रमुख अतिथिकाे रुपमा उपाध्यक्ष विष्णु पाैडेल हेलिकप्टरबाट ओर्लिए र सँगै एमाले नेता तथा रक्षा मन्त्री हरि प्रसाद उप्रेती पनि ।
उपाध्यक्ष पाैडेललाई परबाट देखेका एक पत्रकारले प्वाक्क भनिहाले, `हैन ओली बा त झन तन्नेरी पाे हुँदै गाछन् भन्या ।’ नेताद्वय नजिकै आएपछि फेरि ती पत्रकारकाे मुखबाट फुस्कि गाे, `लाै विष्णु बाजे पाे परेछन् ।’ जतिबेला कार्यक्रमका सञ्चालक जिल्ला उपाध्यक्ष विदुर प्याकुरेलले स्वास्थ्य समस्याका कारण राष्ट्रिय अध्यक्ष ओली आउन नसकेकाे माईकबाट फलाक्दै थिए ।
ओलीलाई नदेखेपछि कार्यक्रममा आएका नेता कार्यकर्ता यतिखेर धमाधम बाहिरिन सूरु गरेका छन् ।