logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मातातीर्थ औँशीमा जुटपानी आश्रमका आमाहरुलाई सम्मान


  • उज्यालो अभियान

नवलपुर, २६ बैशाख – मातातीर्थ औँसीको अवसरमा आज बिहान सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा शरण दिएर राखिएका आमाहरुलाई सम्मान गरिएको छ ।

आश्रम आफैले हरेक वर्ष झैँ शरण दिएर राखिएका आमाहरुलाई दोसल्ला ओढाई मिठा परिकार खान दिएर उनीहरुलाई सम्मान गरिएको हो । मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुंगेली, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, अन्य सुरक्षा अधिकारी, आश्रमका संरक्षक बासुदेव शरण कोइराला र अन्य अतिथि भएर वृद्धा आमाहरुलाई सम्मान गरेका आश्रमकी संचालिका भवानी कोइरालाले जानकारी दिईन् ।

आश्रममा आफ्ना सन्ततीबाट अपहेलित भएका तथा बेवारिसे अवस्थामा भेटिएका आमाहरुलाई ल्याएर पालनपोषण गरी राखिएको छ । वक्ता तथा सहभागीले आश्रममा यसरी आमा, बुवालाई शरण दिएर अपार पुण्य आर्जन गरिरहेको भन्दै संरक्षक बासुदेव शरण कोइराला, अध्यक्ष भवानी कोइरालाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

यसैबीच, हरेक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने दिने मनाउने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिएर आमाको मुख हेर्ने गरिन्छ ।

आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका काम सम्झने गर्दछन् ।

सर्लाहीमा आज यही पर्वको रौनकता देखिन्थ्यो । आमा भेट्न हिँड्नेहरुको मोटरसाइकल, कारसहितका निजी सवारीसहित अटो, म्याजिक, बसलगायतका सार्वजनिक सवारीमा भिडभाड देखियो ।

विशेष गरी पूर्व पश्चिम राजमार्गमा चल्ने अधिकांश सवारीमा आज भरिभराउ यात्रु देखिन्थे ।