logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रेलमार्गको ट्रयाक निर्माण कार्य धमाधम


  • उज्यालो अभियान

लालबन्दी, २५ बैशाख – राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणको कामले गति लिन थालेको छ ।

सर्लाही, महोत्तरी र रौतहट खण्डमा तीव्रताका साथ रेलमार्गको ट्रयाक निर्माण गर्ने काम भइरहेको हो । रेल योजना कार्यालय लालबन्दीका अनुसार अहिले महोत्तरीको बर्दिवासदेखि रौतहटको चोंचासम्म ट्रयाक निर्माणको काम धमाधम भइरहेको छ । सर्लाही खण्डमा लालबन्दी क्षेत्रमा काम केन्द्रित छ ।

यहाँ टिपरले निर्माण सामग्री ओसारेर धमाधम रेल्वे ट्रयाकमा थुपारिरहेका छन् भने बेस बनाउने काम जारी छ । कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर भुवनेश्वर यादवले तीनवटै जिल्लामा बेस निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उज्यालो अभियानसँग बताए ।

यादवका अनुसार बर्दिवासदेखि चोंचासम्म ७० किलोमिटर रेलमार्गमा १६ वटा पुल पर्छन । त्यसमध्ये १४ वटाको निर्माण कार्य पूरा भइसकेको छ । बाँकी दुईवटा पुलको काम पनि अन्तिम चरणमा पुगेको छ । जग्गा अधिग्रहणसहितका सबै काम पूरा भएकाले अहिले रेलमार्ग निर्माणको काममा समस्या नरहेको रेल योजना कार्यालय लालबन्दीले जनायो ।

निर्माण सामग्रीको समस्याले बेलाबेलामा भने रेलमार्गको ट्रयाक निर्माणमा समस्या पर्ने गरेको ठेकेदारका प्रतिनिधिले बताएका छन् । पूर्व पश्चिम विद्युतीय रेलमार्गको कूल लम्बाइ ९ सय ४५ किलोमिटर रहेको छ ।

सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर वर्षेनि बजेट विनियोजन गरी काम अगाडि बढाइरहेको छ ।