logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाराउद्योरण आगलागी : पीडितको खुला आकाशमुनी बास (तस्बीरहरु)


  • उज्यालो अभियान

मलंगवा, २१ बैशाख – भारतीय सीमा नजिक पर्ने सर्लाहीको विष्णु गाउँपालिका–१, बारा उद्योरण गाउँ आगलागीबाट सखाप बनेको छ । त्यहाँ हिजो दिउँसोपख भएको आगलागीबाट गाउँ नै सखाप बनेको हो ।

प्रहरीले राति अबेरसम्ममा संकलन गरेको विवरण अनुसार आगलागीबाट ७१ वटा घर पूर्णरुपमा र ४ वटा घर आंशिक रुपमा गरी ७५ वटा घर जलेका छन् ।

आगलागीले पूरै गाउँ खरानी भएको स्थानीय अजितकुमार सिंहले जानकारी दिए । उनका अनुसार आगलागीपछि घरसहित घरभित्रका सम्पूर्ण सरसामग्री जलेर खरानी हुँदा स्थानीय वासिन्दामा रुवाबासी रोकिएको छैन् ।

शत्रुधन राउतको घरमा ग्याँस सिलिण्डर पड्किएर सुरु भएको आगलागीले पूरा बस्ती ध्वस्त पारेको हो । आगलागी लगत्तै घटनास्थलमा दमकल पुग्न नसक्दा पूरै गाउँ जलेर खरानी हुन पुगेको स्थानीयको गुनासो छ ।

आगलागी भएर बस्ती सखाप भएपछि मात्रै हरिवनसहित महोत्तरीको सम्सी, रामगोपालपुर तथा मधेश प्रदेश प्रहरी गण जनकपुरको दमकल घटनास्थलमा पुगेको थियो ।

प्रहरी, सशस्त्र र नेपाली सेना केही समय अगाडि नै पुगेपनि व्यापक रुपमा फैलिएको आगलागी नियन्त्रणमा सम्भव भएन । आगलागीपछि पीडित परिवारले खुला आकाशमुनी रात बिताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले पीडितलाई राहतस्वरुप तत्काल त्रिपाल, भाडावर्तन र थोरै परिमाणमा खाद्यान्न वितरण भएको बताए ।

(तस्बीर : सुनिल ठाकुर र लक्ष्मण यादव)