मलंगवा, २० बैशाख – सर्लाहीको विष्णु गाउँपालिका १ बाराउद्योरण गाउँमा आज दिउँसोबाट सुरु भएको आगलागी अहिले साँझ अबेर पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

घटनास्थलमा पुगेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलाले गाउँबाट ७० वटाजति घर जलेका उज्यालो अभियानसँग बताए । उनले विस्तृत विवरण भने संकलनकै क्रममा रहेको बताएका छन् ।

सीडीओ धमलाका अनुसार आगलागी गाउँले, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहित हरिवन, महोत्तरीको रामगोपालपुर र सम्सी तथा जनकपुरस्थित प्रहरीको गणबाट आएको दमकलको सहयोगमा आगो पूर्णरुपमा निभाइएको हो । सीडीओ धमलाले पीडितलाई तत्काल त्रिपाल तथा खानाको जोहो गर्न लागिपरिहेको बताए ।

स्थानीयवासी अजित सिंहले आगलागीपछि बस्तीको अवस्था दर्दनाक बनेको बताए । उनले पूरै बस्ती नै आगलागीले सखाप बनेको सुनाएका छन् ।

आगलागीबाट स्थानीयको घरसहित खाने अन्न, लगाउने कपडासहित सबै जलेर खरानी भएको छ ।













