logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको तापक्रम ४२ डिग्री सेल्सीयस पुग्यो, रोकिएन तातो हावा


  • उज्यालो अभियान

मलंगवा, १८ बैशाख – सर्लाहीको तापक्रम आज ४२ डिग्री सेल्सीयस पुगेको छ ।

यो यस वर्षको सबैभन्दा उच्च तापक्रम हो । यस क्षेत्रमा आज पनि बाहिर निस्कन मुस्किल पर्ने गरी तातो हावा समेत चलिरहेको छ ।

उच्च तापक्रम, तातो हावा र अत्यधिक गर्मीले आम मानिस प्रभावित बनेका छन् । बाहिर तातो हावासँगै अत्यधिक मात्रामा धुलो उड्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु, सवारीका यात्रु, मोटरसाइकल चालक लगायत अत्यन्त प्रभावित बनेका छन् ।

झण्डै दुई सातादेखि बढेको गर्मीले जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ । गर्मीले मजदुर, किसानसँगै विद्यालय जाने बालबालिका समस्यामा परिरहेका छन् ।

खडेरीले किसानलाई पिरोलेको छ । खडेरी र तातो हावाले मकै, तरकारीलगायतका बालबाली सुकेर जान थालेका छन् । पानी नपर्दा किसानले नयाँ बाली लगाउन पाएका छैनन् ।

यो वर्ष चैत पहिलो सातातिरै केही दिन झरी परेपनि त्यसपछि पानी पर्न नसक्दा काकाकुलको अवस्था सिर्जना भएको छ ।

चापाकल सुक्न थालेको छ भने चुरेभेगमा खानेपानीका धारा, कुवा र इनार सुक्न थालेका छन् ।