प्रतिकात्मक तस्बीर ।
हरिवन, १८ बैशाख – सर्लाहीको दुई फरक स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको हरिवन नगरपालिका–३, मोहनपुरमा स्थानीय रोहन भुजेलले सञ्चालन गरेको कुखुरा फाम र सँगै रहेको घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हरिवनले जनायो । प्रारम्भिक रुपमा बिजुली सर्ट भएर आगलागी भएको जस्तो देखिए पनि घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले बताए ।
इन्स्पेक्टर गिरीका अनुसार आगलागीबाट कुखुरा फाम, फाम छेउमा बस्नका लागि बनाइएको तीनवटा घर, फाममा रहेको पाँच क्विन्टल तोरी, भाँडालगायत सम्पूर्ण सरसामग्री जलेर नष्ट भएको छ । कुखुरा फाममा रहेका २६ वटा कुखुरा र २० वटा हाँस समेत जलेर मरेका छन् ।
संचालक कोही नभएको समयमा फाममा एक्कासी आगलागी भएको हो । राति ८ः३० तिर सुरु भएको आगलागी गाउँले, प्रहरी र हरिवन नगरपालिकाबाट आएको दमकलको सहयोगमा राति ९ः४५ बजेतिर नियन्त्रणमा आएको थियो ।
यसैबिच गएसाँझ सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा आगलागी हुँदा दुई लाख रुपियाँ बराबरको क्षति भएको छ । स्थानीय बासुदेव महतोको गोठघरमा भएको आगलागीबाट गोठसहित त्यसभित्र रहेका सम्पूर्ण सरसामग्री जलेर नष्ट भएको प्रहरी चौकी कविलासीले जनाएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन् ।
अत्यधिक तापक्रम, सुक्खापन र हावाहुरी चल्दा जिल्लामा दैनिक भइरहेका आगलागीबाट जनधनमा क्षति पुगिरहेको छ ।