logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपूर्वाको विद्युत् सवस्टेशन संचालनको पहल गर्न टोली परिचालन, पोल गाड्ने विवाद भने कायमै


  • उज्यालो अभियान

हरिपूर्वामा अलपत्र रहेको विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)

हरिपूर्वा, १६ बैशाख – सर्लाहीको हरिपूर्वामा डेढ वर्षअघि नै निर्माण भएको विद्युत् सव स्टेशन संचालनमा ल्याउन पहल थालिएको छ ।

प्राधिकरणले हरिपूर्वा नगरपालिका वडा नं. २ मा निर्माण गरेको सवस्टेशन पोल गाड्ने विषयमा विवाद हुँदा संचालनमा आउन सकिरहेको छैन् । ११ केभी लाइनको करिव दुई दर्जन पोल मात्रै गाड्ने विषयमा विवाद हुँदा डेढ वर्षअघि नै निर्माण पूरा भएको सवस्टेशन अझै अलपत्र अवस्थामा छ ।

उक्त सवस्टेशन संचालनका लागि जनकपुरस्थित नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयले ठेकेदारका प्रतिनिधिसहित आफ्ना कर्मचारी परिचालन गरेको हो । पहिले सर्भे भएको स्थान भन्दा पूर्वतर्फ नयाँ खुलेको बाटो छेउछाउ पोल गाडेर काम अघि बढाउने तयारी गरिएको नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद यादवले बताए ।

तर, केही किसानले आफ्नो खेतमा पोल गाड्न नदिने अडान लिइरहेकाले यो पटक पनि काम हुनेमा शंका रहेको एक स्थानीयले उज्यालो अभियानसँग बताएका छन् । “बस्तीदेखि पश्चिमतर्फ नयाँ खुलेको बाटो हुँदै लाइन लाने कुरा छ तर त्यहाँ पनि सबै किसानले मानेको अवस्था छैन,” ती स्थानीयले उज्यालो अभियानसँग भने, “यो पटक पनि यताबाट र उताबाट भन्दै पोल गाड्नै नदिने तयारी हुँदै छ ।”

मलंगवा वितरण केन्द्रका प्रमुख यादवले यो पटक काम हुनेमा आफूहरु आशावादी रहेको बताए । “हरिपूर्वाकै विषयमा छलफल गर्न म पनि जनकपुर नै आएको छु,” उनले भने, “त्यहाँ रोकिएको काम अघि बढाउन प्रादेशिक कार्यालयबाटै आज नै कर्मचारी खटाएर पठाइसकिएको छ ।”

वितरण केन्द्र प्रमुख यादवले कुनै अवरोध नभए बाँकी रहेको २५÷३० वटा पोल गाडेर एक महिनाभित्रै सवस्टेशन संचालन गर्न सकिने बताए । प्राधिकरणले हरिपूर्वाको यो सवस्टेशन संचालनका लागि पटक–पटक प्रयास गर्दा पनि पोल गाड्ने विषयमै राजनीति हुँदा काम पूरा हुन सकेको छैन् ।

मलंगवा सवस्टेशनदेखि लामो दुरीमा बत्ती ल्याउँनुपर्दा हरिपूर्वासहित दक्षिण–पूर्वी भेगमा अन्य क्षेत्रको तुलनामा विद्युत् असाध्य अनियमित छ । “हरिपूर्वाको सवस्टेशन चालू गर्न पाए पूर्वी बेल्टको ८० प्रतिसत समस्या समाधान हुन्थ्यो,” वितरण केन्द्र प्रमुख यादवले उज्यालो अभियानसँगको कुराकानीमा भने ।

हरिपूर्वा नगरपालिका–२, का स्थानीय संजय मण्डलले अहिले चर्को गर्मीमा छिनछिनमै बत्ती गइरहने र बत्ती आएको समयमा पनि भोल्टेज नआउने समस्याले हैरान भइरहेको दुःखेसो पोखे । “यहाँ अधिकांश समय झ्याप्पझ्याप्प बत्ती गइरहन्छ, बत्ती आएको समयमा पनि भोल्टेज हुँदैन,” मण्डलले भने, “यस्तो चर्को गर्मीमा पंखा धरी नचल्दा छटपटाएर बस्नुपरेको छ ।”

हरिपूर्वाको सवस्टेशन संचालनमा आए जिल्लाको पूर्वी बेल्टका हरिपूर्वा, पर्सा, ब्रह्मपुरी, चन्द्रनगरलगायत पालिकाका वासिन्दा लाभान्वित हुने छन् ।