logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दी १५ मा वडा कार्यालय भवनको शिलान्यास, बोहोरेडाँडा र चिसापानीवासीको विरोध


  • उज्यालो अभियान

परवानिपुर, १३ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–१५ मा आज बिहान वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।

सो वडाको झरझरास्थित गुम्बा नजिकै लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् । वडा कार्यालय भवन निर्माणका लागि यो वर्ष तराई मधेश समृद्धि कार्यक्रमबाट २५ लाख रुपियाँ बजेट प्राप्त भएको छ ।

वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर अधिकारी, वडाध्यक्ष बल र अन्य ।

सो बजेट बराबरको काम असार मसान्तभित्र सम्पन्न गरिने वडाध्यक्ष गोरखबहादुर बलले जानकारी दिए । उनका अनुसार बहुवर्षीय योजना अन्तर्गत वडा कार्यालय भवन निर्माणमा आवश्यक पर्ने थप बजेट वडा आफैले हाल्ने छ ।

वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा प्रमुख प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

यसैबिच मेयरसहितले वडा कार्यालय भवन शिलान्यास गरेको केहिबेरमै बोहोरेडाडाँ, चिसापानी र सतभैया क्षेत्रका स्थानीयले विरोध जनाएका छन् ।

वडा कार्यालय भवन शिलान्यास स्थलमा पुगेर विरोध जनाइरहेकाहरु ।

नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासी उदयकुमार मोक्तानको नेतृत्वमा शिलान्यास स्थलमा पुगेका स्थानीयले कालोझण्डा गाड्दै नाराबाजी गरेका हुन् । उनीहरुले लालबन्दी १६ परवानिपुर चोकस्थित हालको वडा कार्यालयमा समेत पुगेर नाराबाजी गरेका छन् ।

वडाध्यक्षका प्रत्यासी मोक्तानले जनभावना विपरीत अपायक स्थानमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको बताए । मोक्तानले सेतीभिर, बाहुनेडाँडा, अर्नेडाँडा, बोहेरेडाँडा, सतभैयालगायत क्षेत्रका वासिन्दाको कुरा पनि सुन्नु पर्ने बताएका छन् । उनले नगरपालिकामा ज्ञापन पत्र बुझाउँदा समेत आफूहरुको कुरै नसुनी केही व्यक्तिको स्वार्थ हेरेर वडा कार्यालय भवन झरझरा डाँडातर्फ लगिएको आरोप लगाएका छन् ।

तर, वडाध्यक्ष बलले भने लालबन्दी १५ को भूगोल नै त्यस्तै रहेको र जहाँ वडा कार्यालय बनाउँदा पनि कसै न कसैलाई अपायक पर्ने अवस्था रहेको बताएका छन् । वडामा चुरेको लामो भाग पर्ने र छरिएर रहेका विकट बस्ती धेरै नै रहेकाले समस्या परेको वडाध्यक्ष बलको भनाई छ । उनले झरझरामा तीन कठ्ठा जग्गा निःशुल्क प्राप्त भएको र अन्य ठाउँ भन्दा यो ठाउँ चारैतिरका वडावासीलाई केही न केही हिसाबमा पायक पर्ने दावी गरे ।

वडाध्यक्ष बलले वडाभित्र तीन पटकसम्म सर्वदलीय बैठक राख्दा वडा कार्यालय निर्माण गर्ने स्थलबारे सहमती हुन नसकेको र अन्तिम पटकको छलफलमा नगरपालिकाबाट जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्ने सहमती भएको बताएका छन् ।

लालबन्दी नगरपालिकाको कार्यपालिका बैठकले वडा कार्यालय भवन आज शिलान्यास भएको झरझरास्थित गुम्बा नजिकै निर्माण गर्ने निर्णय गरेको छ ।

लालबन्दी १५ को वडा कार्यालय हाल लालबन्दी १६ स्थित साबिकको परवानिपुर गाउँ विकास समिति (गाविस) को भवनबाट संचालन भइरहेको छ । तत्कालिन गाविसको भवनबाट वडा नं. १५ र १६ को वडा कार्यालय संचालन भइरहेका छन् ।