logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मिर्जापुरमा आगो निभाउने क्रममा जलेर दुई जना घाइते, घर जलेर नष्ट


  • उज्यालो अभियान

फाइल तस्बिर ।

बलरा, १२ बैशाख – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरमा आगलागी निभाउनेक्रममा दुई जना जलेर घाइते भएका छन् ।

गएराति मिर्जापुरका रामचन्द्र महतोको घरमा लागेको आगो निभाउनेक्रममा घरधनी ४३ वर्षीय महतो र सोही ठाउँका २३ वर्षीय राज मङ्गल घाइते भएका हुन् । घरधनी महतोको दुवै हतकेला र दुवै खुट्टा तथा राज मङ्गलको दाहिने हात र पिठ्यु पोलेर सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवै जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भइसकेका छन् । बिजुलीको तार सर्ट भएर भएको आगलागीबाट रामचन्द्र महतोको घर भने पूर्णरुपमा जलेको छ । राति साँढे ८ बजेतिर भएको आगलागीबाट महतोको घरसहित घरभित्र रहेको सम्पूर्ण सरसमान र छोरीको विवाहका लागि किनेको कपडा तथा सामग्री समेत जलेर खरानी भएको स्थानीयले बताएका छन् ।

यसैबिच कविलासी नगरपालिका–२, पिपरियामा गएसाँझ आगलागीमा परेर चार जना किसानको परालको कुन्यु जलेर नष्ट भएको छ । बाँस घारीमा कुन्यु लगाएर राखेको पराल जलेर खरानी भएको हो ।

आगलागीबाट पिपरियाका बारिस सेखको ३० हजार, हृदय रायको १५ हजार, बहादुर रायको १५ हजार र बिजिन्दर पासवानको १५ हजार रुपियाँको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

परालको कुन्युमा भएको आगलागीको कारण खुल्न सकेको छैन् । घटनाका विषयमा सोधखोज भइरहेको प्रहरीले जनाएको छ ।