पूर्व पश्चिम राजमार्गस्थित हरिवन बजार क्षेत्रको दृश्य । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, ११ बैशाख – सर्लाहीमा आज पनि तीव्र गतिमा तातो हावा चलिरहेको छ ।
यहाँ विगत ३ दिनदेखि यसैगरी दिनभर तातो हावा चलेर अत्यधिक गर्मी भइरहेको छ । गर्मीले बटुवा, मोटरसाइकलमा सवार व्यक्ति, मजदुर, किसान र अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु प्रभावित बनिरहेका छन् ।
चिकित्सकले यस्तो मौसममा अत्यावश्यक काम पर्दा बाहेक सकेसम्म घरबाट ननिस्कन सुझाव दिएका छन् । सुक्खा हावासँगै जताततै धुलो समेत उडिरहेको छ ।
सर्लाहीसहित तराई क्षेत्रमा बिहानपख केही घण्टा शित्तल भएपनि अन्य बेला उखरमाउलो गर्मी हुँदा जनजीवन कष्टकर बनिरहेको छ । पानी पर्न नसक्दा सुक्खापन दिनानुदिन बढ्न थालेको छ ।
टन्टलापुर घाम र त्यसैमाथि सुक्खा हावा चल्दा बालीनाली सुक्ने भन्दै किसान चिन्तित बनेका छन् ।
चिकित्सकले यो समयमा पटक पटक पानी पिउन, बाहिर निस्कँदा मास्क लगाउन, शरीर ढाक्ने कपडा लगाउन र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन सुझाव दिइरहेका छन् ।