लालबन्दी ४ मा प्रयोगविहीन रहेका ज्येठ नागरिक र आकस्मिक आश्रयस्थल भवन । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, १० बैशाख – लालबन्दी नगरपालिका–४, हरिभवनमा निर्माण गरिएको ज्येष्ठ नागरिक भवन र आकस्मिक आश्रयस्थल भवन लामो समयदेखि प्रयोगविहीन बनेका छन् ।
३ वर्षअघि नै निर्माण पूरा भएका यि दुई भवन प्रयोगमा नल्याइँदा बेवारिसे बनेका हुन् । भवन अहिले लागुऔषध प्रयोग गर्ने युवाको बस्ने थलो बनेको स्थानीयले बताएका छन् ।
लालबन्दी नगरपालिका ४ का वडाध्यक्ष सत्यनारायण चौधरीले आफूहरु निर्वाचित भएर आउनु अघिदेखि नै बेवारिसे अवस्थामा रहेको भवन अझै प्रयोगमा ल्याउन नसकिएको बताए । उनले भवन के कसरी निर्माण गरियो र निर्माण पूरा हुनासाथ किन प्रयोग गरिएन भनेर अन्यौलता रहीरहेको बताएका छन् ।
वडाध्यक्ष चौधरीले निर्माण व्यवसायी सम्पर्कमै नरहेकाले भवन प्रयोगमा ल्याउन समस्या परेको बताए । “संघीय सरकारको लगानीमा भवन बनेको भन्ने छ तर बनेदेखि नै भवन प्रयोगमा आएको छैन्,” वडाध्यक्ष चौधरीले भने, “भवन निर्माण गर्ने निकाय र निर्माण गर्ने व्यवसायी हामीसँग सम्पर्कमा आएका पनि छैनन् ।”
चौधरीले वडामा प्रहरी चौकी राख्ने पहल भइरहेकाले यदि प्रहरी चौकी स्वकृत भएर आए अब यही भवनमा राख्ने तयारी रहेको बताएका छन् । दुईवटा भवनमध्ये एउटा भवन नजिकै रहेको शिशुकल्याण जनता माध्यमिक विद्यालय हरिभवनले आंशिक रुपमा प्रयोग गर्दै आइरहेको छ ।
लालबन्दी नगरपालिकाभित्र वडा नं. ४ मा एकै ठाउँमा ज्येष्ठ नागरिक भवन र आकस्मिक आश्रयस्थल भवन तथा वडा नं. १० मा आकस्मिक आश्रय स्थल र वडा नं. ८ मा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको थियो । यि चार भवनमध्ये वडा नं. ८ मा निर्मित ज्येष्ठ नागरिक भवनमा अहिले लालबन्दी नगरपालिकाको कार्यालय सन्चालन भइरहेको छ ।
वडा नं. १० को आकस्मिक आश्रम स्थल भवन बेलाबेलामा तालिम, सभा, सम्मेलन गर्न प्रयोग हुँदै आएको छ । लालबन्दी १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले वडा कार्यालय छेउमै रहेको आकस्मिक आश्रम भवन निर्माणपछि त्यसबेला नै ठेकेदार काम सम्पन्नताको पत्र लिन आएपनि केही काम बाँकी रहेकाले आफूले पत्र नदिएको बताए ।
वडाध्यक्ष श्रेष्ठले वडाबाट अहिलेसम्म भवन बुझ्ने काम नभएको बताएका छन् । “त्यसपछि त ठेकेदार सम्पर्कमै आएका छैनन्, भवन पनि त्यसै छ,” वडाध्यक्ष श्रेष्ठले भने, “नगरसभा गर्न तथा विभिन्न तालिमहरु आयोजना गर्न यो भवन प्रयोग भइरहेको छ ।” उनले नगरले त्यसबेला भवन बुझेको भए आफूलाई थाहा नभएको बताएका छन् ।
आफ्नो पहिलो कार्यकालमा सम्पर्कमा आएका ती ठेकेदार अहिले सम्पर्कमै नरहेका वडाध्यक्ष श्रेठको भनाई छ । राज्को करोडौँ खर्चिएर निर्माण गरिएको यि भवन प्रयोगमा ल्याउन बेवास्ता गरिँदा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।