हरिवन, ९ बैशाख – सर्लाहीको हरिवन नगरपालिका–१, स्थित शिवेश्वर सामुदायिक वनमा सशस्त्र प्रहरी बल नेपालले डढेलोबाट मानव सेवाआश्रम जोगाउन अग्नी नियन्त्रण रेखा निर्माण गरेको छ ।
सशस्त्रको सुरक्षा बेश हरिवनबाट खटिएको टोलीले वन डढेलोको उच्च जोखिममा परेको मानव सेवाआश्रमलाई सुरक्षित राख्न अग्नी नियन्त्रण रेखा बनाएको हो । चुरेभेगस्थित मानव सेवाश्रम नजिकैको वनमा डढेलो फैलिरहेको सूचना पाएपछि २१ जनाको टोली खटिएर आज बिहानभर अग्नी नियन्त्रण रेखा निर्माण गरी फर्किएको हरिवनका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) आनन्द खनालले जानकारी दिए ।
खनालले पुनः डढेलोको जोखिम भए तत्काल त्यहाँ पुगेर आश्रमलाई सुरक्षित राख्ने गरी तयारी अवस्थामा रहेको बताए । सशस्त्र प्रहरीले आज नै हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा मानव सेवाश्रम नजिकै रहेको बस्ती छेउछाउ आइपुगेको डढेलो पनि निभाएको छ ।
चार/पाँच घरधुरीको बसोवास रहेको बस्ती नजिकै आएको डढेलो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खनालले बताए । सुक्खापन बढेर हावा चलिरहँदा जिल्लाको चुरेभेगका वनमा डढेलो लाग्न सुरु भएको छ ।
यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर र बागमती नगरपालिकाको चुरेभेगका डाँडापाखामा दर्जनौँ बस्ती छन् । ति बस्ती डढेलोको उच्च जोखिममा परेका छन् ।