मलंगवा, ६ बैशाख – सर्लाही सदरमुकाम मलंगवास्थित शिक्षा विकास तथा समन्वय इकाई अर्थात् साबिकको जिल्ला शिक्षा कार्यालयबाट सहज रुपमा सिफारिस नपाएको दृष्टिविहिन विद्यार्थीले गुनासो गरेका छन् ।
दृष्टिविहिन विद्यार्थीलाई कानूनमै उल्लेख गरिएको अधिकार लेखेर दिन पनि इकाईका कर्मचारीले अटेरी र अत्यन्त ढिलासुस्ती गर्ने गरेको उनीहरुको गुनासो छ । सर्लाहीका एक जना दृष्टिविहिन विद्यार्थीले नियम अुनसार नियमित र झन्झटसहित सहज रुपले सेवा सुविधा पाउने व्यवस्था मिलाइदिन माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन नै दर्ता गराएका छन् ।
चक्रघट्टा गाउँपालिका–२ बेल्ही घर भएका दृष्टिविहिन विद्यार्थी शिवेद्र कुमार यादवले दृष्टिविहिन भएका तथा प्रचलित कानून बमोजिम सेवा सुविधा प्राप्त गर्ने सबैलाई इकाईबाट सहज रुपमा सेवा सुविधा पाउने वातावरण मिलाइदिन माग गर्दै मन्त्रालयमै अनलाईनबाट निवेदन दर्ता गराएका हुन् । निवेदनमा शिक्षा विकास तथा समन्वय इकाइ मलंगवा लामो समयदेखि कार्यालय प्रमुखविहीन रहेको, निमित्त इकाइ प्रमुख अधिकांश दिन कार्यालयमा अनुपस्थित हुने गरेको र उपस्थित भएको दिन पनि आफू खुसी कहिले १२ बजे त कहिले १ बजे आउने गरेको गुनासो राखिएको छ ।
यस्तै, दृष्टिविहिन तथा न्यून दृष्टियुक्त परीक्षार्थीले आफ्नो स्थायी ठेगाना भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट सिफारिस लिएर लोकसेवा आयोगको परीक्षामा लेखन सहयोगी राख्न पाउने भएपनि आफूहरु मलंगवास्थित इकाइमा पुग्दा सिफारिस नै नपाउने गरेको दृष्टिविहिन विद्यार्थी यादवले गुनासो गरेका छन् ।
दृष्टिविहिन तथा अपाङ्ग विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाईमा कुनै सिफारिस लिन जाँदा एउटा कागज मिलाएर गयो, फेरि अर्को कागज मिलाएर ल्याउनु भन्ने जवाफ दिएर पटक पटक निराश बनाउँदै फर्काउने काम हुने गरेको दुःखेसो पोखेका छन् ।