जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
मुसैली, ६ बैशाख – गएसाँझ दुई पक्षबीचको विवादले केहीबेर अशान्त बनेको सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ७ स्थित मुसैली गाउँ अहिले भने सामान्य बनेको छ ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) रविन्द्रबहादुर सिंहले अहिले बिहान मुसैलीको स्थिति ‘नर्मल’ बनिसकेको जानकारी दिए । विवादको अवस्था सिर्जना हुनासाथ जिल्लास्थित सुरक्षा अधिकारीहरु मुसैली पुगेका थिए । त्यहाँ रातभर ठूलो संख्यामा प्रहरी परिचालन गरियो ।
गएसाँझको विवादमा ३ जना स्थानीय सामान्य घाइते भएकोमा उनीहरु सबै प्राथमिक उपचारपछि आ–आफ्नो घर फर्किसकेका छन् । विवाद रोक्नेक्रममा दुई जना प्रहरी पनि घाइते भएका छन् । त्यसमध्ये इलाका प्रहरी कार्यालय कौडेनामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) प्रमानन्द कुशवाहालाई औंँलामा चोट लागेको र उनी आफै उपचारका लागि जनकपुर गएका प्रहरीले जनायो ।
एसपी सिंहले अवस्था सामान्य बनेसँगै दुवै पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको बताएका छन् ।