logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बयलवास–भेल्ही सडक कालोपत्रे, धुलोबाट स्थानीयले मुक्ती पाए


  • उज्यालो अभियान

ब्रह्मपुरी गाउँपालिकास्थित भेल्ही बजार क्षेत्रमा भर्खरै कालोपत्रे भएको सडक । (तस्बीर : उज्यालो अभियान)

भेल्ही, ५ बैशाख – वर्षौदेखि जिर्ण अवस्थामा रहेको सर्लाहीको बबरगन्जदेखि भेल्हीसम्मको सडक कालोपत्रे भएपछि स्थानीय वासिन्दा र यात्रुले राहत पाएका छन् ।

फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत पर्ने बबरगन्ज–भेल्ही खण्ड लामो समयसम्म अलपत्र अवस्थामा रहँदा सडक छेउछाउ घर भएका स्थानीयवासी र यात्रुले हिउँदयाममा धुलो तथा वर्षायाममा हिलोको सास्ती खेप्दै आएका थिए । अहिले भने उक्त सडक कालोपत्रे भएसँगै धुलो र हिलोको समस्याबाट मुक्ति मिलेको स्थानीयले बताएका छन् ।

फूलजोरदेखि बयलवाससम्म र बयलवास बजारबाट केही दक्षिणदेखि बबरगन्जसम्मको सडक यसअघि नै कालोपत्रे भइसकेको थियो । ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा भने राजनीतिक टकराबका कारण सडक कालोपत्रे हुन सकेको छैन् ।

पूर्व–पश्चिम हुलाकी सडकदेखि दक्षिण त्रिभुवननगरस्थित नेपाल–भारत सीमासम्मको सडक पनि कालोपत्रे हुन सकेको छैन् । त्यहाँ तीन ठाउँमा विवाद रहेकाले सडक कालोपत्रे गर्न नसकिएको हुलाकी सडक आयोजना जनकपुरले जनाएको छ ।

हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्ण महतोले २३ किलोमिटर फूलजोर–त्रिभुवननगर सडकमध्ये २१ किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको उज्यालो अभियानसँग बताए । “भेल्हीदेखि दक्षिण एक ठाउँमा ‘स्टे अर्डर’ र गाउँभित्र दुई ठाउँमा विवाद भएकाले काम हुन सकेको छैन्, बयलवास बजारमा पनि राजनीतिक विवादले समस्या पारेको छ,” सडक कार्यालयका प्रमुख महतोले भने, “विवादित यि ठाउँमा असारसम्ममा कालोपत्रेको काम पूरा गर्ने गरी लागि परेका छौँ ।”

बबरगन्ज–भेल्ही सडक कालोपत्रे भएसँगै सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्न अत्यन्त सहज भएको चन्द्रनगर गाउँपालिका–४, पोखरिया निवासी मुसहर समुदायका अगुवा इन्दल माझीले बताए । “यो सडक नबन्दा धुलोले घरमा बस्न तथा यात्रा गर्न असाध्य गाह्रो थियो”, माझीले भने, “वर्षौको प्रतिक्षापछि बल्ल सडक कालोपत्रे भयो, हामीलाई त ठूलो राहत मिलेको छ ।”

माझीले सडक कालोपत्रे भएपछि पहिले जस्तो सदरमुकाम मलंगवासम्म आउजाउ गर्दा सास्ती खेप्नु नपरेको भन्दै खुसी व्यक्त गरेका छन् । ईश्वरपुर, चन्द्रनगर र ब्रह्मपुरीसहित अन्य पालिकाका स्थानीय यसअघि यो सडक भएर यात्रा गर्दा धुलोले बिरामी नै पर्ने गरेका थिए ।

धुलोले छपक्कै ढाक्ने सडक छेउछाउका घर अहिले सफा देखिएका छन् । सडकको धुलोले स्थानीय बारम्बार बिरामी पर्ने गरेका थिए ।

अहिले यि समस्याबाट राहत मिलेको ब्रह्मपुरी गाउँपालिका–२ का वडाध्यक्ष निरन्जन प्रसाद कलवारले बताए । उनले सडक कालोपत्रे भएसँगै छेउछाउका बस्तीको मुहार फेरिएको बताएका छन् ।

बबरगन्ज–भेल्ही सडकसँगै सर्लाहीमा वर्षौ अलपत्र परेको पूर्व–पश्चिम हुलाकी सडक पनि भर्खरै कालोपत्रे भएको छ । हुलाकी सडकको अब सदरमुकाम मलंगवास्थित राजश्री चोकदेखि टावर चोकसम्मको सडक मात्रै कालोपत्रे हुन बाँकी छ ।

सो सडकमा अहिले असाध्य धुलो उड्दा स्थानीय प्रभावित बनिरहेका छन् । धुलोले आक्रान्त भएको भन्दै केही दिनअघि स्थानीय युवाले टायर बालेर चक्काजाम नै गरेका थिए ।

हुलाकी सडक आयोजनाले मलङ्गवामा ‘साइड क्लियर’ को विवाद समाधान गरेर असारसम्ममा कालोपत्रेको काम पूरा गरिने दावी गरेको छ । मलंगवाको यो दुई किलोमिटर खण्डबाहेक पूर्व–पश्चिम हुलाकी सडक पनि धुलोमुक्त बन्दा यात्रामा निकै सहजकता आएको स्थानीय वासिन्दा तथा यात्रुले बताएका छन् ।