संविधान सभाका सदस्य शिवपुजन यादव (बायाँ) र साथमा रामनगर गाउँपालिकाको अध्यक्ष समेत रहेका उनका छोरा राजाबाबु यादव ।
बलरा, ४ बैशाख – संविधान सभाका सदस्य शिवपुजन राय यादव सातौँ पटक विद्यालय व्यवस्थापन समितिको सदस्यमा चुनिएका छन् ।
यादव बलरा नगरपालिका–८, गडहीया डुमरियामा रहेको जनता नमूना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको सदस्यमा सर्वसम्मत रुपमा चुनिएका हुन् । हिजो सम्पन्न अभिभावक भेलाले पहिलो संविधान सभाका सदस्य यादवसहित मोहम्मद इनुस, सन्जु यादव र राजोदेवी पासवानलाई व्यवस्थापन समितिको सदस्यमा चयन गरेको छ ।
अब शिक्षाप्रेमी वा समाजसेवीबाट एक जना र विद्यालयको जग्गादाताबाट एक जना सदस्य मनोनित गरी त्यसमध्येबाट एक जनालाई अध्यक्षमा चयन गरिने छ । संविधान सभाका सदस्य यादव २०६२ सालदेखि निरन्तर यस विद्यालयमा व्यवस्थापन समितिको अध्यक्षमा रहेका छन् ।
यो पटक पनि उनी नै अध्यक्ष बन्ने निश्चित जस्तै छ । संविधान सभाका सदस्य यादवको घर भने रामनगर गाउँपालिकामा पर्छ । बलरा नगरपालिकामा पर्ने सो विद्यालय उनको घर नजिकै रहेको छ ।
यादवले अरुबाट यो विद्यालय चल्ने स्थिति नै नरहेको दावी गरेका छन् । “माननीय बाहेक अरु हुँदैन भनेर अभिभावकले नै हो–होहल्ला गर्न थाल्छन, त्यसैले म बस्नै पर्ने हुन्छ,” उनले उज्यालो अभियानसँग भने, “फेरि म बाहेक अरुबाट यो विद्यालय चल्ने अवस्था पनि छैन् ।”
यस विद्यालय रहेको क्षेत्रमा यादवको राम्रो राजनीतिक पकट रहेको स्थानीयहरु बताउँछन् ।