logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न


  • उज्यालो अभियान

सोमबार बिहान लालबन्दीको डुमडुमेस्थित पोखरीमा अर्घ चढाएपछि घर फर्किने सुरसार गर्दै गरेका व्रतालु । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ३ बैशाख – आज बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएसँगै चैती छठ पर्व सम्पन्न भएको छ ।

हिजो बेलुका नजिकका पोखरी, खोला, नदी, नहरलगायतका जलाशय किनारमा अस्ताउँदो सूर्यलाई अर्घ चढाएर रातभर छठीघाटमै बास बसेका व्रतालुले आज बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ चढाएर व्रतको समापन गरेका छन् ।

पञ्चमी तिथिका दिन गएको शनिबार ‘खरना’ विधि गरेदेखि निराहार व्रत बसेका व्रतालुले आज सप्तमीको दिन बिहान उर्दाउँदो सूर्यलाई अर्घ चढाएर वसन्ती अर्थात् चैती छठको समापन गरेका हुन् । मधेशमा शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक छठ पर्व मनाउने प्रचलन छ । यो वर्ष सौरमास गणनाले चैती छठ वैशाखमा परेको हो ।

चैती छठका लागि मधेशका जिल्लाहरुमा पोखरी, नहर, खोला, नदीलगायत जलाशयका किनार सरसफाई गरेर छठीघाट निर्माण गरिएको थियो । आज बिहान सोही छठीघाटमा अर्घ चढाएका व्रतालु परिवारका सदस्य तथा इष्टमित्रसहित घर फर्किएका छन् ।

पर्व सकिएसँगै प्रसाद खाने र खुवाउने क्रम सुरु भएको छ । मधेशमा छठको प्रसादका रुपमा ठेकुवा, भुसुवासहितका परिकार बनाउने चलन छ । यि प्रसाद सामग्री छोरीचेलीसहित इष्टमित्रको घरमा पठाउने परम्परा समेत रहेको छ ।

छठ व्रतको प्रभावले दुःख, दरिन्द्र अन्त्य भइ सुख, शान्ति र मनोकाक्षा पूरा हुने जनविश्वास छ । सर्लाहीमा २० वटै पालिकामा यो पर्व हर्षोउल्लासपूर्वक मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जिल्लाभर चैती छठपर्व सामान्य ढङ्गले सम्पन्न भएको जनाएको छ ।