बयलवास, २ बैशाख – सर्लाही क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहमाथि कुटपिट भएको छ ।
साहमाथि गएराति मध्यरातमा ईश्वरपुर नगरपालिका ६ स्थित फूलजोर बाबा मन्दिर नजिकै आक्रमण भएको हो । खेतमा मकै बालीमा पानी पटाइरहेका बेला कामदारले आफूमाथि केही युवा आएर कुटपिट गरेको बताएपछि साह खेततर्फ गएका थिए ।
कामदारलाई किन कुटपिट गरेको ? भनी सोधपुछ गर्नेक्रममा साहमाथि नै ती युवाले आक्रमण गरेका जसपाका नेता अमिरीलाल साहले बताए । उनका अनुसार टाउकोमा चोट लागेर घाइते साह बयलवासमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँतर्फ गएका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।