प्रतिकात्मक तस्बीर ।
हरिवन, २८ चैत – सर्लाहीका दुई अलग स्थानमा बिजुली सर्ट भएर आगलागी हुँदा ६ लाख बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाले दिएको जानकारी अनुसार हरिवन नगरपालिका ३ डाबरी र गोडैता नगरपालिका १० सिसौटियामा आगलागी भएको हो । डाबरीमा स्थानीय गजेन्द्र चौधरीको गोठ जलेर नष्ट हुँदा ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सिसौटियाका रामज्ञान चौधरीको काठको घुम्ती कस्मेटिक पसलमा भएको आगलागीबाट पनि ३ लाख बराबरकै क्षति भएको प्रहरीले जनाएको छ । डाबरी र सिसौटिया दुवै स्थानको आगलागी स्थानीय वासिन्दा, प्रहरी र दमकलको सहायतामा निभाइएको छ ।
जिल्लामा केही दिनदेखि तापक्रम अत्यधिक बढ्दा विद्युत् सर्ट हुने तथा मानवीय त्रुटिका कारण अन्य आगलागीजन्य घटना बढिरहेका छन् ।
दुई दिनअघि बसबरिया गाउँपालिका ३ भवानीपुर मुसहर बस्तीमा भएको आगलागीमा परेर ५ वटा घर पूर्ण तथा ६ वटा घर आंशिक रुपमा जलेका थिए ।
यो बेला जथाभावी आगो नबाल्न, खाना पकाएपछि चुल्होको आगो राम्रोसँग निभाउन, वनमा जथाभावी डढेलो नलगाउन र बालबच्चाको पहुँचमा लाइटर, सलाई नदिन र बिडी, चुँरोट पिएर जथाभावी नफाल्न जानकारहरुले सुझाव दिएका छन् ।