रामपुर, चैत २२ – सर्लाहीको ईश्वरपुर नगरपालिका ८ रामपुरस्थित फुटबल मैदानमा आयोजित प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदै छ ।
दोस्रो सेमिफाइनलमा आज आयोजक जनजागृति यूवा क्लब रामपुर र बर्दिवास नगरपालिका खेल्न लागेका हुन् । खेल अपरान्ह ४ बजेपछि सुरु हुने छ । आजको बिजेताले उपाधिका लागि पर्सी २४ गते जनसेवी युवा क्लब महोत्तरीसँग खेल्ने छ ।
जनसेवी हिजो पहिलो सेमिफाइनल खेलमा नव जनजागृतिलाई ट्राइबे्रकरमा ५–४ गोलले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ ।
सर्लाही लोकतान्त्रिक खेलकुद संघको आयोजना तथा जनजागृति यूवा क्लब रामपुरको सह–आयोजनामा चैत १७ गतेदेखि जारी प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।