मलंगवा, चैत २२ – सर्लाही सदरमुकाम मलंगवामा आज प्रदेश स्तरीय ‘अग्नी नियन्त्रण’ अभ्यास गरिएको छ ।

मधेश प्रदेश सरकारका गृह, सन्चार तथा कानून मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा मलंगवा नगरपालिका–१०, स्थित तिनबिघे मैदानमा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन गरिएको हो । नेपाली सेनासहित अन्य सुरक्षा निकाय, रेडक्रस र विपद्को क्षेत्रमा कार्यरत विभिन्न कार्यालय तथा संघसंस्थाको आयोजनामा संयुक्त विपद् अभ्यास गरिएको हो ।

उक्त अभ्यासको प्रदेश सरकारका मन्त्री लेखी, प्रदेशका गृह सचिव वीरेन्द्र यादव, प्रदेश प्रहरी प्रमुख (डीआइजी) यज्ञविनोद पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख सन्जयकुमार यादव, नेपाली सेनाको मध्यपूर्वी पृतना बर्दिवासका पितृनापति एवं उपरथि सुदर्शन शिलवाल, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र यादव, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, चारवटै सुरक्षा निकायका अन्य अधिकारी, जनप्रतिनिधि, राजनीतिज्ञ, पालिकाको विपद् क्षेत्रमा काम गर्ने कर्मचारी, संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, सामाजिक अगुवालगायतले निरीक्षण गरे ।

अहिलेको जस्तो सुक्खा र हावाहुरीको याममा अत्यधिक मात्रामा हुने आगलागी के–कसरी नियन्त्रण गर्ने ? भनी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसहित विपद्को क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि मिलेर संयुक्त रुपमा अग्नी नियन्त्रण अभ्यास गरिएको नवलपुरस्थित भैरवीदल गण पाँचकुमारीका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्कीले उज्यालो अभियानसँग बताए ।

प्रदर्शनीमा वनमा लाग्ने डढेलो, इलेक्ट्रिक सरसामग्री भएको ठाउँमा लागेको आगो, ग्याँस सिलिण्डर लिक भएर लागेको आगो, बस्तीमा लाग्ने आगो कसरी निभाउने ? भनी अभ्यास गरेर देखाइएको छ । प्रमुख सेनानी कार्कीका अनुसार प्रदर्शनीमा विपद्का बेला प्रयोग हुने सरसामग्रीको स्टल समेत राखिएको थियो । ती सामग्रीको पनि मन्त्री लेखीसहितका अतिथिहरुले निरीक्षण गरे ।

अग्नी नियन्त्रण अभ्यासको ठूलो संख्यामा विद्यार्थी र स्थानीय वासिन्दाले अवलोकन गरेका छन् ।