logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बन्द गरिएका धाराको ४१ लाख बक्यौता, उठाउन सकस


  • उज्यालो अभियान

लालबन्दी, चैत २१ – सर्लाहीको लालबन्दीस्थित खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई बन्द गरिएका धाराको बक्यौता रकम उठाउन सकस परेको छ ।

संस्थाले लामो समयसम्म खानेपानीको महशुल र धारा जडान गर्दाको सहलगानी रकम नबुझाउने ५४४ वटा धारा उखेलेर कार्यालयमा ल्याइ राखेको छ । त्यस्ता धाराबाट ४१ लाख ८२ हजार ३८२ रुपैयाँ असुल उपर हुन बाँकी रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीका कार्यालय प्रमुख मुकुन्दकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले खानेपानीको धारा उखेलेरै ल्याउँदा र विभिन्न माध्यमबाट ताकेता गर्दा पनि बक्यौता रकम उठाउन नसकिएको बताए । “हामी बक्यौता भएका प्रत्येक ग्राहकको घरघरमै गएर ताकेता गरेका छौँ,” श्रेष्ठले भने, “त्यसरी बारम्बार गएर ताकेता गर्दा र पत्र पठाउँदा पनि उहाँहरु पैसा बुझाउन आउनु भएको छैन् ।”

संस्थाले खानेपानीको धारा जडान गर्दा उपभोक्तासँग सहलगानी शिर्षकमा १७ हजार रुपैयाँ लिन्छ । सुरुमा आयोजना सन्चालनमा आउँदाताका ठेकेदारले सहलगानीको पैसा भुक्तानी नगर्दै जडान गरिएको धाराको अहिले आएर सहलगानी रकम र खानेपानीको महशुल उठाउन असाध्य गाह्रो परेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष देवनाथ पोखरेलले बक्यौता रकम उठाउन नसकेर असाध्य हैरानी खेपिएको बताए । “पानी उपभोग गरेपछि उपभोक्ता स्वयं आएर महशुल र सहलगानीको रकम तिनुपर्ने हो तर त्यसो हुन सकेन,” पोखरेलले भने, “हाम्रोतर्फबाट अनेक उपाय लगाउँदा पनि पैसा नउठेपछि अहिले नगरपालिकाको न्यायिक समिति र प्रहरी कार्यालय नै गुहारेका छौँ ।”

उनले विपन्न र मजदुरलाई सहलगानीको रकम बुझाउन समस्या परेपनि आर्थिक अवस्था रामै्र भएका व्यक्तिले समेत बक्यौता बुझाउन अटेरी गरेका सुनाए । नगर विकास कोषको करिव २४ करोड रुपियाँ ऋणमा रहेको संस्थालाई बन्द भएको धाराको बक्यौता रकम नउठ्दा आर्थिक संकट बढेको छ ।

लालबन्दी नगरभित्रको गौरवको आयोजनाको रुपमा रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्था उपभोक्ताबाट संकलन भएको महशुल रकमबाटै सन्चालन हुने गरेको छ । लालबन्दी नगरपालिका र विभिन्न वडाले वार्षिक रुपमा केही रकम अनुदान स्वरुप प्रदान गर्दै आइरहेका छन् ।

संस्थालाई उपभोक्ताबाट उठ्ने महशुलबाट मात्रै खानेपानी वितरणको खर्च धानेर टिकाइराख्न चूनौति थपिएको संस्थाका पदाधिकारीले बताएका छन् । लालबन्दी नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक कल्पनामाया पाख्रिनले खानेपानी संस्थाबाट बक्यौता रकम उठाइदिन भन्दै निवेदन पेश भएको बताईन ।

उनले खानेपानी संस्थाले निवेदनको कारवाही प्रक्रिया अघि बढाउन कर्मचारीलाई निर्देशन दिएको बताए । “बक्यौता उठाइदिनुपर्यो भनेर उहाँहरुले निवेदन दिनुभएको छ, हामी पत्र अध्ययन गरेर कारवाही अघि बढाउँछौँ,” उपप्रमुख पाख्रिनले उज्यालो अभियानसँग भनिन् ।

संस्थाले लालबन्दी नगरपालिका ३ देखि १३ वडा भित्र रहेको र १५ नंं. वडाको केही घरधुरीमा खानेपानी वितरण गर्दै आइरहेको छ ।