logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

एसइई : आज दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो


  • उज्यालो अभियान

हरिपूर्वास्थित केश्वर गरिब जनता मावि । (तस्बीर : उज्यालो अभियान)

हरिपूर्वा, चैत २१ – माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज पाँचौ दिन अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षामा सर्लाहीमा दुई जना परीक्षा निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामवृक्ष महतो नेतृत्वको अनुगमन टोली पुग्दा परीक्षाको मर्यादा कायम राख्न नसकेको पाइएपछि जिल्लाको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिका–५, स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालयका निरीक्षक चन्दन दास र सुशील रायलाई जिम्मेवारीबाट हटाएर जगेडामा रहेका अर्का दुई जना निरीक्षक खटाइएको हो । निरीक्षकद्वय दास र राय अब बाँकी परीक्षामा निरीक्षक बस्न पाउने छैनन् ।

परीक्षामा आज पाँचौ दिन नियमिततर्फ पाँच हजार ३५० जना छात्रा र पाँच हजार २३८ जना छात्र गरी जम्मा १० हजार ५८८ जना तथा ग्रेडवृद्धि तर्फ ६७ जना छात्रा र ४७ जना छात्रा सहभागी भएका छन् । एसइईका लागि १० हजार ८९६ जना परीक्षार्थीले फाराम भरेकोमा आज १०८ जना छात्रा र ८६ जना छात्र गरी १९४ जना अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले बताए ।

एसइइ अन्तर्गत यसअघि हिजो भएको अनिवार्य विज्ञान विषयको परीक्षाबाहेक अहिलेसम्म भएका परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक र परीक्षार्थी कारवाहीमा परेका छन् ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा १० निरीक्षक जिम्मेवारीबाट मुक्त, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा पनि २ जना निरीक्षक जिम्मेवारीबाट मुक्त र तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा ३ जना केन्द्राध्यक्ष परिवर्तन, ७ जना परीक्षार्थी निष्काशित र एक जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।