logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा सुक्खा हावा, धुलोले सास्ती


  • उज्यालो अभियान

लालबन्दी, १९ चैत – सर्लाहीमा आज मध्यान्हदेखि सुक्खा हावा चलिरहेको छ ।

यहाँ घाम लागेर मध्यान्हदेखि एकनासले सुक्खा हावा चलिरहेको हो । हावासँगै धुलो, धुँवाको प्रदुषण छ । कच्ची सडकमा असाध्य धुलो उडेर आउजाउमै समस्या भएको स्थानीयले बताएका छन् ।

कच्ची सडकमा गाडी गुड्दा झन बढी धुलो उडेको देखिन्छ । अहिले चलेको हावा असाध्य दुषित हुने जानकारहरु बताउँछन् । यो हावाले बालीनाली सुकाउने चिन्ता किसानमा परेको छ ।

केही दिनअघि पर्याप्त वर्षा हुँदा यहाँ मकै, उखु, तरकारीलगायतका बालीनाली राम्रोसँग फिरेर आएका थिए । तर, आजबाट फेरि तीव्र गतिमा हावा चल्दा किसानलाई निराश पारेको छ ।

यो हावाले आँप र लिचीको चिचिला समेत झार्ने किसान बताउँछन् । यसरी हावाहुरी चल्दा आगलागीको जोखिम अत्यधिक हुने भएकाले सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् । यो मौसममा ज्वरो, रुघाखोकी, अपज, पखला लाग्नेजस्ता मौसमजन्य संक्रमणको जोखिम समेत रहेकाले स्वास्थ्य सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।