हरिवन, चैत १९ – सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले ६७ औँ सहकारी दिवसका अवसरमा आज आयोजना गरेको निवन्ध लेखन तथा वाचन प्रतियोगितामा जनज्योति बहुमुखी क्याम्पस लालबन्दी पहिलो भएको छ ।
हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा आयोजना गरिएको प्रतियोगितामा जनज्योति प्रथम हुन सफल भएको हो । सहकारीको सकारात्मक पाटो र सुधार गर्नुपर्ने पक्षहरु समेटेर ‘वर्तमान समयमा सहकारीप्रतिको धारणा’ भन्ने शिर्षकमा खुल्ला निवन्ध लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको सगुन सहकारी हरिवनले जनाएको छ ।
जनज्योति पहिलो भएको प्रतियोगितामा चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी दोस्रो र नारायण बहुमुखी क्याम्पस बयलवास तेस्रो भएका छन् । त्यस्तै शुभ जनता बहुमुखी क्याम्पस बरहथवा र कर्मैया आदर्श जनता बहुमुखी क्याम्पस बागमतीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
ती क्याम्पसका विद्यार्थीलाई संस्थाका अध्यक्ष केशवराज ढकाल, निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, सुखेपोखरी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष रामशरण उप्रेती, संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरे, हरिवन १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली, नगर सहकारी सन्जालका संयोजक रामप्रसाद घिमिरेलगायत भएर पुरस्कार वितरण गरेका संस्थाका व्यवस्थापक रवीन्द्र रानाले जानकारी दिए । संस्थाका सचिव राजकुमार उप्रेतीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तारादेवी सुवेदीले स्वागत गरिन् ।
हरिवन नगरपालिका ११ मा प्रधान कार्यालय रहेको संस्थाले तीन दिवसीय कार्यक्रम अन्तर्गत यसअघि हिजो पहिलो दिन ७ वटा विद्यालय र एउटा समिक्षालयमा पंखा, डष्टविन र पानीको जार वितरण गरेको थियो ।
अब भोली (मंगलबार) हरिवन नगर सहकारी सन्जालको आयोजनामा सगुनको कार्यालय परिसरमा रक्तदान तथा सनराईज आवासिय विद्यालयको मैदानमा सहकारीकर्मी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ ।