प्रतिकात्मक तस्बिर ।
कर्मैया, चैत १७ – चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, कर्काली खोल्सीमा एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
ढोपबाट हिरेडाँडातर्फ जाने चुरेपाखाको गोरेटो बाटोबाट करिव ७ सय मिटर तल खोल्सामा सनाखत हुन नसकेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । हिजो दिउँसो वनमा करकलो टिप्न गएका मानिसले भिरको खोल्सामा सड्न थालिसकेको शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
मृतकको शव घटनास्थलबाट उठाएर गएसाँझ पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । भिरको अप्ठेरो बाटोबाट लडेर ती पुरुषको मृत्यु भएको आशङ्का गरिए पनि पुष्ट भने हुन सकेको छैन् ।
प्रहरी निरीक्षक गिरीले पोष्टमार्टम रिपोर्ट आएपछि ती व्यक्तिको मृत्युको कारण खुल्न सक्ने बताए । उनले मृतकको हुलिया सबैतिर परिपत्र गरेर परिचय खुलाउने प्रयास भइरहेको बताए ।
बागमती नगरपालिका १ का वडाध्यक्ष गम्भिर सिंह पाख्रिनले मृतकलाई स्थानीय कसैले नचिनेका बताए । उनले पनि पुरुषको भीरबाट लडेको हुनसक्ने आशंका गरे । मृतक तराई मुलको जस्तो देखिएका वडाध्यक्ष पाख्रिनको भनाई छ ।