logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीको मौसम आज पनि बिहानैबाट धुम्म


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १४ चैत – सर्लाहीको मौसम आज पनि बिहानैदेखि धुम्म भइरहेको छ ।

यहाँ पानी पर्लाजस्तो भई जिल्लाभरको मौसम बदली भएर उघ्रिन सकेको छैन् । यसअघि हिजो पनि यहाँको मौसम यस्तै थियो ।

सर्लाहीमा अघिल्लो वुधबारदेखि झरी पर्न सुरु भएर बेलाबेलामा पानी पर्ने र यसैगरी मौसम धाम्मधुम्म हुने भइरहेको छ । यो वर्ष चैतमा पनि बर्खामासमा झैँ झरी पर्ने भइरहेको छ ।

चैत लाग्नासाथ परेको पानीले किसानलाई भने निकै फाइदा पुर्याएको छ । अहिले परेको पानीले मकै, गहुँ, उखुलगायतका बालीलाई फाइदा पुगेको छ भने बाँझो रहेको खेतबारी जोतेर बेलैमा मकै रोप्ने मौका मिलेको किसानले बताएका छन् ।

हरिया तरकारी उब्जिन थालेका छन् । चैते वर्षापछि पालुवा पलाएर हरियो फिर्दै गइरहेको छ ।

यसैबीच पर्सि शुक्रवारसम्म नै बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म नै देशका धेरैजसो ठाउँ मुख्य गरी पहाडी क्षेत्रमा मौसम बदली, केही ठाउँमा हल्का वर्षा र थोरै ठाउँमा मध्यम वर्षाको अनुमान छ ।

अघिल्लो हप्ता बुधवारदेखि देशका धेरै ठाउँमा बदली र वर्षा भैरहेको छ । गएराति पनि काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, तनहुँ, संखुवासभा, धादिङलगायतका जिल्लामा हल्का पानी परेको थियो । काठमाण्डौसहित बाग्मती, कोशी र गण्डकीमा आज दिउँसोपछि हल्का तथा मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखामा मौसमविद् सरोज पुडासैनीले बताए ।

नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । प्रि–मनसुनमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने गर्छ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ ।