लालबन्दी, १३ चैत – पछिल्लो समय पत्रकारितामा इमान्दारिता र व्यावसायिकताको अभाव खड्किएको भन्दै आज लालबन्दीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रिय कार्य समितिले सर्लाही शाखासँग समन्वय गरी आयोजना गरेको पत्रकारिता क्षेत्रको व्यावसायिकता, सुरक्षा र जवाफदेहिता सुदृढिकरणका लागि कार्यशाला गोष्ठीमा सहभागीले पत्रकारिता क्षेत्रमा निष्ठा, निष्पक्षता र पेशाप्रति जिम्मेवारी कम हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । अहिलेको पत्रकारिता स्वार्थ प्रेरित तथा मूल्य, मान्यता र नैतिकता विपरीत अगाडि बढेको भन्दै यसप्रति पत्रकार तथा संचारगृह गम्भीर बन्नुपर्नेमा सहभागीको जोड छ ।
लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले राज्यको चौँथो अंग मानिने पत्रकारले सही र गलतलाई छुट्याइ नैतिकता र पेशागत धर्म नभुली कलम चलाउनुपर्ने बताए । उनले नगरलाई प्रत्यायोजित अधिकार बमोजिम संचारकर्मी तथा संचारगृहसँग सम्वन्धित नीति बनाउन आफू सकारात्मक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमालले कोहीप्रति वैमनश्यकता नराखी निष्पक्ष र समाजमा सकारात्मक सन्देश दिने गरी पत्रकारिता गर्न आग्रह गरेका छन् । उनले पत्रकारिता अध्ययन गरी व्यावसायिक पत्रकारितामा क्रियाशील हुन जिल्लाका संचारकर्मीलाई सुझाव दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र शेजुवालले पत्रकारितामा पछिल्लो समय आएका विकृति चिर्दै जान मुस्किल परिरहेको बताए । महासंघका केन्द्रिय सदस्य शिव पुरीले हिजोआज पत्रकारिता क्षेत्रमा देखिएको अनेक विकृति, विसङ्गतिले वर्षौदेखि पत्रकारिता गर्दै समाजमा योगदान पुर्याएका पुराना तथा अग्रज पत्रकारमाथि पनि नैतिकताको प्रश्न उठ्न थालेको गुनासो गरे ।
उनले पत्रकारिता गरेर धाक, धम्की र असुली गर्ने प्रवत्ति मौलाउँदै जानु चिन्ताको विषय भएको बताए । महिला अगुवा सानु पाख्रिनले महिला पत्रकारको सहभागिता नै नभएको देख्दा दुःख लागेको बताउनुभयो । उहाँले महिलालाई पनि प्रोत्साहन गरेर यो पेशामा ल्याउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सर्लाहीमा पत्रकारिताको अवस्था, सुरक्षा र स्थानीय सरोकारवालाबीचको समन्वयको विषयमा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष विश्वनाथ ठाकुर र सरोकारवालाको तर्फबाट टिपोट भएको विचारको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले प्रस्तुत गरे । कार्यक्रममा महिला अधिकारकर्मी रमा काफ्ले, सामाजिक अभियन्ता रमा पाैडेल लगायतले समेत सकृय सहभागिता जनाएका थिए ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय अनुसन्धान सर्लाहीका प्रमुख देवराज लिम्बु, सशस्त्र प्रहरी बल हरिवन बेसका डीएसपी गोपिकृष्ण भट्टराई, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी, उद्योग वाणिज्य संघ लालबन्दीका उपाध्यक्ष प्रदीप भट्टराईलगायत अन्य सरोकारवाला र जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
संचारकर्मी घनश्याम बलम्पाकीको संचालन तथा क्षितिज विश्वकर्माले स्वागत रहेको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघको वरिष्ठ कार्यक्रम अधिकृत गिरिराज अधिकारी र कार्यक्रम अधिकृत रविराज बरालले गरेका थिए ।