सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, १२ चैत – आज मनाइँदै गरेको होली पर्वलाई लक्षित गरी सर्लाही प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारिएको जनाएको छ ।
होली मनाउनेक्रममा कहीँकतै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो । विशेष गरी सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा आज प्रहरीले विशेष निगरानी बढाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जनशक्ति परिचालन गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।
तराई क्षेत्रको होली आज परेपनि सर्लाहीमा उत्तरी भेगमा हिजो पनि होली मनाइएको थियो । उत्तरी भेगमा आज पनि होली खेल्नेक्रम जारी छ ।
सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने आज होली मनाउनेक्रम चलिरहेको छ । गत वर्ष झै–झगडा, झडप र विवाद भएका ठाउँमा विशेष निगरानी बढाइएको डीएसपी पन्जियारले बताए । उनले हिजो पहिलो दिनको होली शान्तिपूर्ण बनेको र आज दोस्रो दिन उच्च सतर्कता अपनाएर प्रहरी टोली परिचालन भएका बताए ।
यसैबीच, तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।
होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ ।