लालबन्दी, १२ चैत – पानी परेर बालीनाली फिरेपछि सर्लाहीका किसान खुसी भएका छन् ।
चैतको सुरुमै यो वर्ष पर्याप्त वर्षा भइदिँदा खडेरीले प्रभावित भएको बाली फिरेर आएको हो । मकै, गहुँ, उखुलगायतका बाली पर्याप्त आकाशे वर्षा भएपछि फिरेको किसानले बताएका छन् ।
मकैमा सुत्ला लाग्ने बेला खडेरी जाँदा किसान निराश थिए । खोलामा समेत पानी सुक्दा किसानले पानी पटाउन पाएका थिएनन् ।
अहिले भने पानी परेपछि खडेरीले सुक्न थालिसकेको हाइब्रिड मकै फिरेर आएको लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान चक्रबहादुर राउतले बताए । यहाँका किसानले लगाएको मकै अहिले धानचमारा आएर सुत्ला लाग्न थालेको छ ।
अहिले परेको पानीले सबैभन्दा धेरै त्यही मकै बालीलाई फाइदा पुगेको छ । वर्षापछि व्यावसायिक रुपमा मकै खेती हुने जियाजोर, राजघाट, शङ्करपुर, बरहथवा क्षेत्रका किसान खुसी छन् ।
चैतमा पर्याप्त वर्षा भएपछि उखु खेती पनि हरियो फिरेर आएको किसानले बताएका छन् । आकाशे वर्षाको भर रहेको जिल्लाको चुरेभेगका किसान पानी परेपछि बाँझो खेतबारी खनजोतमा ब्यस्त देखिएका छन् ।
चुरेभेगका किसानले अब मकै रोप्ने तयारी गरेका छन् । यो वर्ष चैत पहिलो सातामै पानी परेपछि वनमा लागेको डढेलो थप फैलन नपाएको स्थानीयले बताएका छन् ।