मलंगवा, चैत १२ – सर्लाहीसहित तराई क्षेत्रमा आज रंगहरुको पर्व फागुपूर्णिमा अर्थात् होली हर्षोउल्लासपूर्वक मनाइएको छ ।
पहाडी जिल्लाहरुमा होली मनाएको भोलीपल्ट तराई मधेशमा यो पर्व मनाउने प्रचलन अनुसार आज मनाइएको हो । सर्लाहीको उत्तरी भेगमा हिजो र आज दुवै दिन पर्व मनाइएको छ ।
सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा भने आज यो पर्व आपसमा रंग, अविर दलेर खुसी साटासाट गर्दै मनाइएको हाम्रा संवाददाताहरुले जनाएका छन् । होली मनाउनेक्रममा आज साँझसम्म जिल्लामा कहीँकतै अप्रिय घटना नभएका प्रहरीले जनाएको छ ।
आज स–साना बालबालिकादेखि पाका उमेरका मानिससम्मले गाउँ, बस्ती तथा बजारमा खुसीयालीका साथ होली मनाइरहेको देखिन्थ्यो । पर्वका कारण जिल्लाको मलंगवा, लालबन्दी, हरिवन, बरहथवा, बयलवाससहितका मुख्य बजार क्षेत्रका पसल व्यवसाय बन्द गरेर सबैजना रमाईलोमै ब्यस्त भए ।
पूर्व–पश्चिम राजमार्गसहित भित्री सडकहरुमा आज सवारी साधन कमै मात्रामा चले । अधिकांश पर्वमै रमाइरहेका देखिन्थे । होली पर्वमा साथीभाई, आफन्त तथा इष्टमित्रलाई घरमा बोलाएर तथा भेला भएर मिठा परिकार खुवाउने र आपसमा रंग दलेर शुभकामना साटासाट गर्ने प्रचलन छ ।
सर्लाहीका दक्षिणी भेगका गाउँहरुमा जोगिरा गायर रमाईलो गरिएको स्थानीयले बताएका छन् ।
होली पर्वलाई असत्यमाथि सत्यको बिजयी भएको दिन तथा पुराना रिसिईबी, कटुता अन्त्य गरेर खुसी साटासाट गरेर रमाउने दिनको रुपमा लिने गरिन्छ ।