logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रतनिकाको उपचारका लागि जुटेको २ लाख ३६ हजार हस्तान्तरण


  • उज्यालो अभियान

घुर्कौली, ११ चैत – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौली निवासी रतनिका योन्जनको उपचारका लागि २ लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

रतनिका बचाउ अभियानमा संकलन भएको रकम हरिवन ३ निवासी युवा समाजसेवी सन्जीव कुमार मोक्तानको नेतृत्वमा आफन्तलाई बुझाइएको हो । मोक्तानको नेतृत्वमा विभिन्न देश तथा ठाउँमा रहेका सहयोगी दाताहरुबाट प्राप्त २ लाख ३१ हजार ६ सय ८४ र मोक्तानको व्यक्तिगत ५ हजार गरी जम्मा २ लाख ३६ हजार ६ सय ८४ रुपैयाँ सहयोग रकम शनिबार बिरामीको घरमै पुगेर बुझाइएको छ ।

हरिवन ५ का वडा अध्यक्ष नागेन्द्र कुमार साह, अभियानका संयोजक अमर लाल तामाङ, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, नेपाली कांग्रेसकी नेतृ सोनी कुमारी बोम्जन, युवा नेता सुनिल डुम्जन, जिल्ला घेदुङका उपाध्यक्ष शशी बल, हरिवन नगर घेदुङ अध्यक्ष राजु लो तामाङ, बागमती नगर घेदुङ सदस्य प्रदिप ब्लोन लगायतको उपस्थितिमा बिरामीको ठुलोबुवा हिरा डुम्जनलाई रकम हस्तान्तरण गरिएको हो ।

१८ वर्षीया रतनिकालाई गम्भीर रोग लागेका कारण उपचारका लागि वीर अस्पताल काठमाडौंमा भर्ना गरिएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनको राम्रोसँग उपचार हुन सकिएको थिएन ।

गाउँबाट चलाएको अभियानले हालसम्म १८ लाख बराबर सहयोग जुटिसकेको अभियानका संयोजक मोक्तानले बताए । हाल भारतस्थित दिल्लीको एक हस्पिटलमा रतनिकाको उपचार भैरहेको र स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले जनाएको छ ।