logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

तारपोलको व्यवस्थापन गर्न माग गर्दै प्राधिकरणमा ज्ञापन पत्र


  • उज्यालो अभियान

हरिवन, १० चैत – सर्लाहीको हरिवन नगरपालिका–८ का स्थानीयले वडाभित्रका विभिन्न स्थानमा तारपोलको व्यवस्थापन गरिदिन माग गर्दै प्राधिकरणमा ज्ञापन पत्र बुझाएका छन् ।

वडाध्यक्ष प्रज्वल ढुंगानाको नेतृत्वमा प्राधिकरणको लालबन्दी वितरण केन्द्रमा ज्ञापन पत्र लिएर पुगेका स्थानीयले वडा नं. ८ अन्तर्गतका कतिपय गाउँ बस्तीहरुमा हालसम्म तारपोलको आवश्यकता रहेको तथा कतिपय टोलमा काठको पोलबाट विद्युतीकरण भई जोखिम रहेकोबारे ध्यानाकर्षण गराएका हुन् ।

वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले उक्त गाउँ बस्तीमा तत्काल तारपोलको व्यवस्था मिलाउन माग गरेका छन् । हरिवन ८ को वडा कार्यालयबाट २०७९ असार ५ गतेको सिफारिस पत्रसहित प्राधिकरणको लालबन्दी वितरण केन्द्रलाई पटक–पटक मौखिक रुपमा ताकेदा गर्दा पनि तारपोलको व्यवस्थापनमा चासो नदिएको गुनासो गरिएको छ ।

स्थानीयले तारपोलको व्यवस्थापन हुन आवश्यक रहेको गाउँ, बस्तीको नामावलीसहित बुझाएको ज्ञापन पत्रमा प्राधिकरणबाट कुनै सुनुवाई नभएको खण्डमा थप दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने उल्लेख गरिएको छ ।