मलंगवा, ०९ चैत – सर्लाहीबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा १० हजार भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
चैत १५ गतेबाट सुरु हुने एसइइमा सर्लाही जिल्लाभरबाट १० हजार ८९६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ । सामुदायिक विद्यालयबाट नौ हजार ५६२ र संस्थागत विद्यालयबाट एक हजार ३३४ जना विद्यार्थी सहभागी हुने छन् ।
जिल्लाबाट १५८ जना विद्यार्थीले गे्रेड वृद्धि परीक्षा दिँदै छन् । एसइइ सञ्चालनका लागि जिल्लामा ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यो वर्ष हरिपुर नगरपालिका १ स्थित पाँचकुमार रामऔतार लक्षिया माध्यमिक विद्यालय हजारबिघामा पहिलो पटक एसइइको परीक्षा केन्द्र कायम गरिएको छ । गएको वर्ष ३७ वटा परीक्षा केन्द्र थिए ।
गत वर्षको तुलनामा यो वर्ष करिव एक हजार परीक्षार्थी थप भएकाले एउटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका निमित्त प्रमुख सुनिलकुमार कुशवाहाले जानकारी दिए । उनका अनुसार जिल्लाभरबाट १०५ वटा सामुदायिक र ४५ वटा संस्थागत विद्यालयका विद्यार्थी एसइइमा सामेल हुँदै छन् ।
एसइइ सञ्चालनका लागि ३८ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५४४ जना निरीक्षक, १०३ जना परीक्षा सहायक र २२० जना कार्यालय सहयोगी समेत गरी एक हजार १६ जना जनशक्ति परिचालन हुने छन् ।
एसइइ सञ्चालनका लागि जिल्लामा प्राप्त प्रश्नपत्र तथा उत्तरपुस्तिका मिलाउने र सम्वन्धित परीक्षा केन्द्रमा पठाउने काम सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख कुशवाहाले बताए ।