डीएसपी दिपेन्द्र पंजियार थारु ।
मलंगवा, ०८ चैत – जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपेन्द्र पंजियार थारुकाे सरुवा भएकाे छ ।
डीएसपी थारुकाे सिन्धुलीकाे दुधाैली स्थित बागमती प्रदेश प्रहरी तालीम केन्द्रमा सरुवा भएकाे हाे । थारु १० महिना देखि जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत थिए । थारुकाे स्थानमा जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुबाट डीएसपी दिपक श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले खटाएकाे छ ।
डीएसपी श्रेष्ठ आएपछि थारु दुधाैलीतर्फ जाने बताईएकाे छ । हालै प्रहरी प्रधान कार्यालयले बुधबार १४१ जना डीएसपीकाे सरुवा गरेकाे छ ।
यस्तै, इलाका प्रहरी कार्यालय बरहथवामा काजमा कार्यरत डीएसपी मुक्तिनाथ सापकोटाको पनि सरुवा भएको छ । सापकोटाको जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएको हो ।
सापकोटा केही समयअघि मात्रै बरहथवामा भएको गोलीकाण्डको घटनापछि इप्रका बरहथवाको इन्चार्जमा काज सरुवा भई आएका थिए । डीएसपी गंगाबहादुर थापा कारवाहीमा परेपछि बरहथवामा आउनुभएका सापकोटाले अहिले जिप्रका सिरहा सरुवा भएको हो ।
बरहथवामा अहिले नेपाल प्रहरी शिक्षालय तालिम शाखा, भरतपुर चितवनबाट डीएसपी गौतम थापा आउने भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय गम्भीर अपराध अनुसन्धान शाखा जनकपुरमा दरबन्दी रहेका थापालाई बरहथवामा काज खटाइएको हो । बरहथवा इप्रकामा डीएसपीको दरबन्दी नरहेकाले काजमा खटाउँदै आइएको छ ।
त्यसैगरि सशस्त्र प्रहरी बल सुरक्षा गुल्म मलंगवा सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बराल र बेस क्याम्प हरिवनका प्रमुख डीएसपी गाेपीकृष्ण भट्टराई पनि सरुवा भएका छन् । ६ महिनाकाे कार्यकाल पूरा गरेका दुवै डीएसपीकाे महाेत्तरीकाे बर्दिबास स्थित बाहिनीमा सरुवा भएकाे हाे । बरालकाे स्थानमा महाेत्तरीकाे जलेश्वरबाट सशस्त्रका डीएसपी उज्वल लामिछाने आएका छन् भने भट्टराईकाे ठाउँमा काठमाडाैं बलम्बुबाट आनन्द खनाल आउँदैछन् ।