लालबन्दी, ०७ चैत – सर्लाहीका अधिकांश क्षेत्रमा अहिले सिमसिम पानी परिरहेको छ ।
यहाँको मौसम आज बिहानैबाट बदली भएर हल्का वर्षा भइरहेको हो । किसान पर्याप्त आकाशे वर्षाको प्रतिक्षामा छन् । एक झर राम्रोसँग वर्षा भएदिए धुलो, धुँवाको प्रदुषण कम हुनुका साथै वनजंगलमा लागेको डढेलो निभ्ने स्थानीयको आश छ ।
लामो समयदेखि पानी पर्न नसक्दा सुक्खापन अत्यधिक बढेको छ । पानीको अभावमा मकै, गहुँलगायतका हिउँदे बाली प्रभावित बनेका किसानको भनाई छ । अहिले हल्का रुपमै परेको पानीले गहुँ, मकैसहितका हिउँदे बाली र आँप, लिचीलगायतका फललाई अमृत समान हुने किसानले बताएका छन् ।
यसैबीच, काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज काठमाण्डौ उपत्यकासहित बाग्मती, मधेश र कोशी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । कोशी, मधेश र बाग्मती प्रदेशका थोरै ठाउँका साथै पहाडी भेगका अरु एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का पानी पर्न सक्ने उनले बताए ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।