हरिवन, ०७ चैत – सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीले आज पुनः बाजागाजासहित एक कार्यक्रमकाबिच पदबहाली गरेका छन् ।
विशेष अदालतले वडाध्यक्ष मैनालीलाई भ्रष्चाटार मुद्दामा अघिल्लो वुधबार सफाई दिएको थियो । एक वर्षपछि अदालतले सफाई दिएपछि वडाध्यक्ष मैनालीले आज चुनावमा बिजयी भएकोताका झैँ बाजागाजा र मन्चको कार्यक्रम गरी वडा कार्यालयमा पुगेर पदबहाली गरेका हुन् ।
वडाध्यक्ष मैनालीले आफूलाई विशेष अदालतले एक वर्षपछि न्याय दिएकोमा खुसी व्यक्त गर्दै अब फेरि जनताको सेवामा सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । कार्यवाहक वडाध्यक्ष अन्जना शर्मा शिवाकोटीको अध्यक्षता तथा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्व मधेश प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका पूर्व मेयर गणेशप्रसाद प्रसाईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी अतिथि तथा स्थानीयले वडाध्यक्ष मैनालीलाई फूलमाला, अबिर र खादा पहिर्याएर स्वागत गरेका छन् ।