मलंगवा, ०५ चैत – जिल्ला प्रशासन कार्यालय सर्लाहीले शभ्य भएर फागुफूर्णिमा अर्थात् होली पर्व मनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सूचना जारी गरी कोही कसैलाई बाधा र अवरोध नपुग्ने गरी शभ्य र शिष्ट किसिमले होली मनाउन आग्रह गरेका हुन् । सूचनामा चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जिस्काउने, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने आदि जस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न/नगराउन आह्वान गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पर्व मनाउनु हुन अनुरोध गरिएको छ ।
कोही कसैले अवाञ्छित गतिविधि र क्रियाकलापहरु गरे/गराइएको पाइएमा त्यस्ता व्यक्तिलाई प्रचलित कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी धमलाले उल्लेख गरेका छन् । होलीलाई शान्तिपूर्ण बनाउन सर्लाही प्रहरीले सुरक्षा योजना लागू गरी अघि बढेको छ ।
यस वर्ष पहाडमा चैत ११ गते र तराईमा १२ गते होली मनाइँदैछ । सर्लाहीमा उत्तरी भेगमा पहाड र तराई भेगमा पर्व मनाउने दुवै दिन र दक्षिणी बेल्टमा तराई क्षेत्रमा पर्व मनाउने दिन मात्रै होली पर्व मनाउने गरिन्छ ।