हिजो भएको आगलागीस्थलमा पुगेका वडाध्यक्ष गोरबहादुर बल र कृष्णकुमार कार्कीसहित पीडित टेकबहादुर आले (रमेश) ।
लालबन्दी, ०५ चैत – डढेलो सल्किएर सर्लाहीको लालबन्दी नगरपालिका–१५, बाहुने डाँडामा आज दुईवटा गोठ जलेर नष्ट भएको छ ।
जिल्लाको उत्तरी चुरेभेगस्थित विकट क्षेत्रमा पर्ने बाहुने डाँडाका कान्छा गोलेको वस्तुभाउ बाध्ने दुईवटा गोठ जलेर खरानी भएको हो । आज दिउँसो नजिकको वनमा लागेको डढेलो सल्किएर गोलेको दुईवटा गोठ जलेर ध्वस्त भएको खबर आएको लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलले जानकारी दिए ।
त्यहाँबाट स्थानीयले फोनमा दिएको जानकारी अनुसार आगलागीबाट गोठ जलेपनि मानवीय तथा पशुचौपायमा क्षति पुगेको छैन् । अहिले जिल्लाका विभिन्न वन तथा चुरेपाखामा लागेको डढेलो घर तथा गोठमा सल्किने जोखिम बढिरहेको छ ।
यसैबीच, लालबन्दी १५ कै शिर कालिन्जोर समन टोलमा हिजो भएको आगलागीबाट गोठ जलेर पूर्ण क्षति भएका तथा दुईवटा गोरु घाइते भएका टेकबहादुर आले (रमेश) लाई आज लालबन्दी नगरपालिकाले सहयोग गरेको छ । वडाध्यक्ष बल, लालबन्दी नगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक तथा लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) सहितले आज शिर कालिन्जोरमा पुगेर आलेलाई नगरपालिकाको तर्फबाट दुई थान त्रिपाल सहयोग गरेका छन् ।
वडाध्यक्ष बल र कार्कीसँगै शिर कालिन्जोर पुगेका पशु सेवा केन्द्र लालबन्दीका प्रमुख एवं पशु चिकित्सक सुरेन्द्र भारतीसहितले आगोले जलेर घाइते भएका हल गोरुको उपचार गरेका छन् । आगोले जलेर एउटा गोरु शक्त घाइते भएको छ भने अर्को सामान्य घाइते छ ।
बालबालिकाले आगो खेलाउँदा आलेको गोठमा आगलागी भएको स्थानीयले बताएका छन् ।
विपद् व्यवस्थापन समितिका संयोजक कार्कीले नगरभित्र कहीँकतै आगलागी हुँदा तुरुन्त विपद् व्यवस्थापन समिति वा जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह बताए ।