बाँके जङ्गल क्षेत्रका टावरमा टाङ्गिएको तार । (तस्बीर : उज्यालो अभियान)
फूलजोर, ३ चैत – हेटौंडा ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइन अन्तर्गत सर्लाहीको बाँके जङ्गल क्षेत्रमा तार टाङ्ने काम धमाधम अघि बढेको छ ।
महोत्तरीतर्फको जङ्गलमा रहेका टावरमा तार चढाउने काम सकेर अहिले सर्लाहीतर्फको बाँके जङ्गल क्षेत्रमा काम भइरहेको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण आयोजना ढल्केबर कार्यालयका प्रमुख श्याम यादवले जानकारी दिए । उनका अनुसार अहिले सर्लाहीको बाँके चोक र फूलजोर चोक बिचको फूलजोर बाबा साझेदारी वन क्षेत्रमा प्राविधिक तथा कामदार खटिएर धमाधम तार टाङ्ने काम गरिरहेका हुन् ।
उनले सर्लाहीको जङ्गल क्षेत्रमा केही सातादेखि निरन्तर काम भइरहेको बताए । “महोत्तरीतर्फ काम सकेर अहिले सर्लाहीको बाँके जङ्गल आइपुगेका छौँ,” यादवले उज्यालो अभियानसँग भने “प्रशारण लाइनको टावरमा इन्सुलेटर राखेर धमाधम तार चढाउने काम भइरहेको छ ।”
उनले जङ्गल क्षेत्रको काम सकेपछि लालबन्दी, हरिवन र बागमती नगरपालिकामा तार जडानको काम अघि बढाइने बताए । राष्ट्रिय आयोजना अन्तर्गत पर्ने यस प्रशारण लाइनको लालबन्दी नगरपालिका–१२, जियाजोर क्षेत्रमा मुआब्जाको विवादले गर्दा लामो समयसम्म काम रोकिन पुगेको थियो ।
जियाजोरको विवाद मिलेसँगै जिल्लाभित्र प्रशारण लाइनको कामले गति लिएको हो । स्थानीयलाई सहमतीमा ल्याएर जियाजोर क्षेत्रको काम सम्पन्न भइसकेको छ ।
जियाजोरमा टावर गाडेर तार टाङ्ने काम पूरा भइसकेको आयोजनाले जनाएको छ । लालबन्दी नगरपालिका १२ का वडाध्यक्ष दुर्गा बहादुर आले मगरले स्थानीयसँगको सहमती अनुसार मुआब्जा प्राप्तिको काम अघि बढेको जानकारी दिए ।
उनले सहमती अनुसार मुआब्जा पाउने आशमा स्थानीय रहेका बताए । “बारम्बारको छलफलपछि मुआब्जामा सहमती जुटेको छ, मुआब्जाको फाइल अघि बढिसकेको जानकारी पाएका छौँ,” वडाध्यक्ष आलेले उज्यालोसँग भने ।
आफूहरुलाई मर्का नपर्ने गरी प्रशारण लाइनमा पर्ने जग्गाको मुआब्जा दिनुपर्ने माग गर्दै स्थानीयले पटक–पटक अवरोध जनाएका थिए । सुरक्षाकर्मीको सहयोग लिएर जियाजोर खण्डको काम अहिले भने पूरा भएको हो ।
मुआब्जाको विवाद मिलाउन स्थानीयसँग सुरक्षा अधिकारी, आयोजनाका प्रमुखसहित अन्य कर्मचारी, जनप्रतिनिधिलगायतले पटक–पटक वार्ता गरेका थिए ।