जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, २ चैत – सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ९ स्थित राजदेवी मन्दिरमा आज र भोली विशेष पूजा अर्चना तथा प्राणप्रतिष्ठा गरिँदै छ ।
मन्दिरमा गएको मंगलवार तोडफोड भएको थियो । प्रहरीले मन्दिरमा तोडफोडको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । मंगलबारको घटनापछि मन्दिरमा क्षमापूजासहित प्राणप्रतिष्ठा गर्न लागिएको हो ।
स्थानीय वासिन्दाले आज कलशयात्रा समेत निकाल्ने तयारी गरेका छन् । मंगलबारको घटनापछि प्रहरीले सदरमुकाम मलंगवामा सुरक्षा सतर्कता बढाएको छ ।
आज र भोली प्राण प्रतिष्ठाको कार्यक्रम राखिएकाले अझ बढी सुरक्षा सावधानी अपनाइएको सर्लाहीका एक सुरक्षा अधिकारीले बताए ।
मंगलबारको घटनापछि वुधबार दिनभर मलंगवा बजार बन्द गरियो । हिजोबाट भने अवस्था सामान्य बनेको छ ।
आज पनि बिहानैबाट बजारसहित सम्पूर्ण व्यापार व्यवसाय र यातायातका साधन निर्वाध रुपमा संचालन भइरहेका छन् ।