logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मन्दिर तोडफोडको आरोपमा बैठा पक्राउ


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, १ चैत – सर्लाही सदरमुकाम मलंगवामा मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ मलंगवा नगरपालिका–८, मा रहेको राजदेवी मन्दिर र मलङ्गवा नगरपालिका–९, मा रहेको झिलिमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा मलंगवा नगरपालिका–८, बस्ने ३३ वर्षीय राकेश बैठा पक्राउ परेका हुन् ।

बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मन्दिर तोडफोडको आरोपमा दुई शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दा बैठाको मात्रै संलग्नता देखिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले बताए ।

उनका अनुसार बैठालाई धर्म सम्वन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्वन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पु¥याउन नहुने, धार्मिक भावनामा आघात पुर्याउन नहुने, धार्मिक रीति स्थितिमा बाधा पु¥याउन नहुने, धर्म परिवर्तन गराउन नहुने व्यवस्था रहेको र धर्म सम्वन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।

मन्दिरमा तोडफोड भएपछि हिजो दिनभर मलंगवा अशान्त बन्यो । बजार बन्द गरिएको थियो ।

आज भने अहिले बिहानसम्म अवस्था सामान्य नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।