logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भ्रष्टाचार मुद्दामा वडाध्यक्ष मैनालीलाई सफाइ


  • उज्यालो अभियान

हरिवन, १ चैत – सर्लाहीको हरिवन नगरपालिका १० वडाअध्यक्ष शम्भुप्रसाद मैनालीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष मैनालीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले अध्यक्ष मैनालीलाई हिजो बुधबार सफाइ दिने निर्णय गरेको हो ।

मैनालीमाथि साविक हरिवन गाउँ विकास समिति वडा नम्बर २ (ग) हाल हरिवन नगरपालिका १० नयाँरोड बजार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गसँगै जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मूल्य न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको आरोप थियो ।

मैनालीविरुद्ध अख्तियारले ९ लाख ३६ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो । मैनाली गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट दोस्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित भएका थिए ।

मुद्दा दायर भएपछि उनी एक वर्षसम्म जिम्मेवारीविहीन हुँदा वडा सदस्य अन्जना शर्मा शिवाकोटीले कार्यवाहक वडाध्यक्षको रुपमा काम गरिन् ।