प्रतिकात्मक तस्बिर ।
मलंगवा, ३० फागुन – नेपाल विद्युत् प्राधिरकणको मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा चैत १ गतेदेखि १५ गतेसम्म दैनिक १० घण्टा बत्ती काटिने भएको छ ।
वितरण केन्द्रले सूचना जारी गरी नवलपुर–मलंगवा ३३ केभी लाइनको कण्डक्टर अपगे्रडिङ अर्थात पुरानो तार हटाइ नयाँ तार जडान गर्न दिनभर बत्ती काट्नु परेको जनाएको छ । अहिले पनि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मलंगवा वितरण केन्द्रमा बत्ती काट्ने गरिएको छ ।
काम नसक्किएकाले अब फेरि चैत १ गतेदेखि १५ गतेसम्म थप एक घण्टा थपेर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बत्ती काटिने भएको हो । यसरी लामो समयदेखि दिनभर बत्ती काट्दा बिजुलीबाट हुने काम ठप्प भएको भन्दै ग्राहकले आक्रोश व्यक्त गर्न थालेका छन् ।
प्राधिकरणको मलंगवा वितरण केन्द्रले अन्य कुनै विकल्प नै नरहेकाले लाइन काटेरै तार फेर्ने काम गर्नुपरेको जनाएको छ । उसले तार फेरेपछि गर्मीयाममा हुने कम भोल्टेज आउनेसहित विद्यूत् प्रवाहको समस्या कम भएर जाने दावी गरेको छ ।