प्रतिकात्मक तस्बिर ।
हरिपुर, ३० फागुन – सेना र चितवन फाइनलमा ।। सर्लाहीको हरिपुर नगरपालिका ७ स्थित चिताइनमा आयोजित अन्तर प्रदेश स्तरीय दोस्रो मेयर कप नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेक र चितवन भलिबल सङ्घले आज प्रतिस्पर्धा गर्दै छन् ।
हिजो भएको पहिलो सेमिफाइनल खेलमा भलिबल सङ्घ सिन्धुलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन फाइनलमा पुगेको छ । चितवनले सिन्धुलीलाई २६–२४, २४–१२ र २४–२० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा भैरवीदल गणले मकवानपुर भलिबल सङ्घलाई ३–० को सोझो सेटमा नै पराजित गर्यो । सेनाले मकवानपुरलाई २४–११, २४–१६ र २४–१३ को सेटमा पराजित गर्दै चितवनसँग उपाधि भीडन्त पक्का गरेको हो ।
सेना र चितवनबीचको फाइनल खेल आज दिउँसो ३ बजेपछि हुने आयोजक लक्ष्मीनाथ युवा क्लब चिताइनका चेतनारायण धामीले जानकारी दिए । प्रतियोगिताको बिजेताले एक लाख र उपबिजेताले ५० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
आयोजकका धामीले दिनुभएको जानकारी अनुसार आज नै महिला भलिबलको क्वाटरफाइनलदेखि फाइनलसम्मको खेल हुने छ ।
महिलातर्फ बिजेतालाई २० हजार र उपबिजेतालाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । आज मध्यान्ह १२ बजे महिलातर्फको फाइनल खेल हुने आयोजकले जनाएको छ ।