मलंगवा, २९ फागुन – सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकालाई मंगलबार साक्षर नगरपालिका घोषणा गरिएको छ ।
मेयर नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान खानेपानी मन्त्री महिन्द्रराय यादवले साक्षर मलंगवा घोषणा स्तम्भको अनावरण गर्दै मलंगवालाई साक्षर नगर घोषणा गरेका हुन् ।
नगरको १२ वटा वडाका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका पाँच हजार ६३० जनामध्ये पाँच हजार ४१२ जना अर्थात् ९६.१३ प्रतिसत नागरिक सामान्य लेखपढ गर्न सक्ने भएपछि साक्षर नगरपालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जनाए ।

प्रत्येक वडामा शिक्षक परिचालन गरी सिकाइ केन्द्र सञ्चालन गरेर १५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकलाई विभिन्न चरणमा लेखपढ गर्न सिकाइएको छ ।
कार्यक्रममा निवर्तमान मन्त्री महिन्द्रराय यादव, प्रदेशसभा सदस्य कौशलकिशोर राय, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले सम्वोधन गर्दै आगामी दिनमा पनि सचेतना जगाउने र निरक्षरलाई साक्षर बनाउने अभियानलाई निरन्तरता दिन सुझाव दिएका छन् ।