हरिपुर, २५ फागुन – महाशिवरात्रिको अवसरमा आज सर्लाहीसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागिरहेको छ ।
चिताइनस्थित चिताइन महादेव मन्दिर, लालबन्दीस्थित डुमडुमे मन्दिर, हरिवनस्थित सुखेपोखरी र कैलाशपुरी मन्दिर, सागरनाथ महादेव मन्दिर, मूर्तियास्थित महादेव मन्दिरसहित जिल्लाभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । ऐतिहाँसिक स्थल चिताइन मन्दिरमा विशेष गरी भान्टाको भार चढाउनेको घुइँचो रहेको मन्दिर समितिका अध्यक्ष राजेन्द्र धामीले बताए ।
महाशिवरात्रीकै अवसरमा चिताइनमा आजबाट मेला समेत सुरु भएको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।