मलंगवा, २४ फागुन – सर्लाहीमा दादुरा–रुबेला विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई आज अन्तिम दिन खोप लगाइँदै छ ।
स्वास्थ्य कार्यालय सर्लाहीले जिल्लाका २० वटै पालिकाका स्वास्थ्य संस्थाबाट आज अन्तिम दिन खोप लगाइने भएकाले कोही–कसैको ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउन छुटेको भए नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन सूचना जारी गरेको हो । जिल्लामा फागुन १६ देखि २२ गतेसम्म खोप अभियान चलाइएको थियो । तर, अभियानका क्रममा छुटेका बालबालिकालाई हिजो २३ गते विभिन्न स्वास्थ्य संस्थामा जम्मा पारेर खोप लगाइयो ।
अब आज अन्तिम दिन बेलुका ५ बजेसम्म जिल्लाभरका पालिकालाई आ–आफ्नो मातहतका स्वास्थ्य संस्थाबाट खोप चलाउन पत्राचार गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए ।
१६ गतेदेखि २२ गतेसम्म स्वास्थ्यकर्मीहरुले प्रत्येक विद्यालयमा पुगेर बालबालिकालाई खोप लगाएका थिए ।
विद्यालय भन्दा बाहिर रहेका बालबालिका खोपबाट बन्चित भएको गुनासो आएपछि हिजो र आज दुई दिन त्यस्ता बालबालिकालाई स्वास्थ्य संस्थामा भेला पारेर खोप लगाउने काम भइरहेको हो ।